काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतीपुर बस्ने १९ वर्षीय निसान भन्ने दिपक मल्ल समेत ५ जनालाई १ थान कटुवा पेस्तोल, १९ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट, ५ ट्याब्लेट ट्रामाडोल, ५ ट्याब्लेट एभिल र ४ थान मोबाइल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने काषिराम देवकोटाको घरमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई उक्त पेस्तोल र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पाँचथरको फालेलुङ गाउँपालिका–७ बस्ने ३६ वर्षीय कुबेर राईलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले राईको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
स्याङजा, हरिनाश गाउँपालिका–३ कुसिनडाँडास्थित जङगलमा वेवारिसे अवस्थामा रहेको ३ थान एकनाले भरुवा बन्दुक शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।