कास्की । पोखरा महानगरपालिका–१४ चाउथेबाट नियन्त्रित लागूऔषध १ सय एम्पुल डाईजेपाम, १ सय २० एम्पुल फेनरागन र १ सय एम्पुल ब्रुफिनुर्फिन सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–९ नयाँबजार बस्ने २९ वर्षीय शनि खत्री र सोही महानगरपालिका–१८ सेती बस्ने २५ वर्षीय अशोक परियार रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।