काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १ सय ६५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सिरहा कर्जनहा नगरपालिका–६ घर भएका २१ वर्षीय रुपेश ठाकुरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.ख ८४११ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध ४ सय ९६ एम्पुल डाईजेपाम, ४ सय ९६ एम्पुल फेनारगन र ४ सय ९६ एम्पुल नुर्फिन सहित भारत बिहार मोतिहारी रक्सौल बस्ने २५ वर्षीय भोला दासलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइ ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट २ केजी अवैध लागूऔषध गाँजा सहित बारा जितपुर सिमरा उपमहानगरपालिका–३ बस्ने १४ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शरीरमा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।