बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

सोमबार, चैत्र ३० २०७७

काठमाडौं ।  चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ५ सय एम्पुल फेनारगन र ५ सय एम्पुल लुपिजेसिक सहित झापा बिर्तामोड नगरपालिका–७ घर भएका ३३ वर्षीय लखन मुर्मुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.७ ख ६३८ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
उदयपुरको त्रियुगा नगरपालिका–११ बस्ने ३० वर्षीय गोकर्ण कार्कीलाई करिब २ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोकर्णले अवैध लागूऔषध ब्राउन सुगरको कारोवार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
कैलालीको गोदावरी नगरपालिका–२ उत्तर बनखेतबाट करिब ४ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय हेमन्त खत्री र २८ वर्षीय तोया नाथ रहेका छन् । हेमन्तको घरमा लागूऔषधको कारोवार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
सुनसरीको धरान उपमहानगरपालिका–३ शान्तिपथबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका–६ बस्ने २० वर्षीय निगम राई र सोही ठाउँ बस्ने १९ वर्षीय शुक्रराज राई रहेका छन् । को.१३ प ६७८२ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक निगम र मोटरसाइकलमा सवार शुक्रराजलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको  हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।