बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

१८ दिनसम्म विधालय बन्द गर्ने सरकारको निर्णय, रात्रिकालीन कर्फ्यू लागू

सोमबार, चैत्र ३० २०७७

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि भारतको उत्तर प्रदेश सरकारले सबै स्कूल १८ दिन बन्द गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको निर्णय अनुसार ३० अप्रिलसम्म विद्यालय बन्द हुने भएका छन् । कोरोना संक्रमणको दोस्रो लहर तीब्र गतिमा फैलिरहेकाले जोखिम कम गर्न विद्यालय बन्द गरिएको उत्तर प्रदेश सरकारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेश नेपालको दक्षिणी सीमावर्ति प्रदेश हो ।

विद्यालयको पठनपाठन बन्द गरिएपनि भौतिक दूरी कायम राखेर परीक्षा सञ्चालन भने नियमित गरिने भएका छन् । ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका क्षेत्रमा रात्रिकालीन कर्फ्यू समेत लाग्ने भएको छ ।

प्रदेश राजधानी लखनउ, कानपुर, गोरखपुर, इलाहाबाद, गाजियाबाद लगायतका शहरमा यसअघि नै रात्रिकालीन कर्फ्यू लागू भइसकेको छ । सार्वजनिक कार्यक्रममा ५० जनाभन्दा धेरै भेला हुन समेत प्रदेश सरकारले रोक लगाएको छ ।

आईतबार उत्तर प्रदेशमा १५ हजार ४०० जनामा कोरोना पुष्टि भएसँगै कूल संक्रमितको संख्या ६ लाख ९२ हजार पुगेको छ । भारतमा दैनिक डेढ लाखभन्दा धेरै संक्रमित देखिन थालेपछि विभिन्न प्रदेशमा लकडाउन र कर्फ्यू लगाउने क्रम बढिरहेको छ ।