आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जसपा वैकल्पिक सरकारको पक्षमा

बिहिबार, चैत्र १९ २०७७

काठमाडौं – पछिल्लो राजनीतिक परिस्थितिबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच छलफल भएको छ ।

मंगलवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवा र भट्टराईसँग छुट्टाछुट्टै भेटेपछि बुधवार देउवा, भट्टराई र यादवबीच छलफल भएको छ । भेटमा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिने विषयमा देउवालाई अग्रसरताका लिन भट्टराई र यादवले आग्रह गरेका छन् ।

जवाफमा देउवाले पार्टीभित्र वैकल्पिक सरकारको पक्षमा उभिने संस्थागत निर्णय गराउन भट्टराई र यादवलाई आग्रह गरेका छन् । भट्टराई र यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भए पनि जसपा वैकल्पिक सरकारको पक्षमा उभिने विश्वास दिलाउन खोजेका थिए ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग सहकार्यका लागि निरन्तर वार्तामा रहेका छन् । जसले गर्दा देउवा जसपाको साथ पाइनेमा विश्वस्त छैनन् । बुधवारको छलफलमा देउवाले जसपा एकमतका साथ प्रस्तुत हुने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

कांग्रेस वैकल्पिक सरकारको पक्षमा रहेको भन्दै देउवा आफू परिपक्व परिस्थितिको प्रतीक्षामा रहेको बताएका थिए । देउवा, भट्टराई र यादवबीचको भेटवार्तापछि माओवादी केन्द्रले आज बिहीबार बिहानका लागि स्थायी कमिटीको बैठक राखेको छ ।

बैठकमा सरकारबाट समर्थन फिर्ता लिने विषयमा छलफल हुने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रतिनिधिसभा पुनर्स्थापना भएको १ महिनापछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने सुरसार थालेपछि अब वैकल्पिक सरकार निर्माणको प्रक्रिया सुरूआत भएको देखिएको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । यतिबेला प्रदेशमा पनि माओवादी र एमालेले एकअर्काको नेतृत्वमा रहेका सरकारबाट समर्थन फिर्ता लिने क्रम जारी रहेको छ ।