काठमाडौं । कोरोना बिमामा पछिल्लो समय बिमा कम्पनीहरुले भुक्तानी दिइरहेका छैनन् । उनिहरुले जम्मा गरेको रकम सकिएपछि अहिले यसको भुक्तानी रोकिएको छ ।
करिब १५ हजार जति फाइल भुक्तान गर्नका लागि योग्य भएपनि ति फाइल भुक्तानीका लागि प्रक्रिया अघि बढाइएको छैन । रकम सकिएपछि बिमा कम्पनीले सरकारसँग रकम माग गरेका छन् । तर सरकारले अहिलेसम्म भुक्तान गरेको छैन ।
हुनत बिमा कम्पनीहरुले रकम माग गरेको पनि धेरै दिन बितेको छैन । बिमा कम्पनीहरुले जनाएअनुसार कोरोना पुष्टि भएका करिब ८७ हजार १ सय ९२ वटा दावी कम्पनीहरुमा परेका छन् ।
अहिलेसम्म करिब ५६ हजार सात सय ९८ बिमा रकम पाउनका लागि योग्य भएका छन् । जसमध्ये ४० हजारले त रकम पनि पाइसकेका छन् । करिब यि ४० हजारलाई रकम भुक्तान गर्दा नै साढे तीन अर्ब रकम सकिएको बिमा कम्पनीहरु बताउँछन् ।
तीन अर्व रकममा बिमा कम्पनीहरुले १ अर्ब, १ अर्ब पुनर्बिमा कम्पनी र १ अर्ब बिमा समितिजे भुक्तान गरेको छ भने ५० करोड रकम बिमा कम्पनीहरुको जोखिम व्यवस्थापनबाट पनि भुक्तान गरिएको छ ।
करिब १५ हजार दाबी रकम पाउनका लागि योग्य भइसकेका छन् । तर, रकम अभावका कारण कम्पनीहरुले भुक्तान गर्न सकेका छैनन् । साढे ३ अर्ब भन्दा माथिको रकम सरकार आफैले ब्यहोर्ने बताएकाले अहिले कम्पनीहरु सरकारबाट रकम माग गरिरहेका छन् ।
बिमा समितिले जनाए अनुसार ३ अर्ब रकम समितिले अर्थमन्त्रालयसँग माग गरिसकेको छ । तर ५ हजार जति दाबी भने इपिडियोमिलोजी तथा रोग नियन्त्रण महासाखाबाट स्वीकृत हुन बाँकि छन् ।
साउन अघि नै दाबी परेका यस्ता दाबीहरु इपिडियोमिलोजी तथा रोग नियन्त्रण महासाखाबाट कोरोना लागेको पुष्टि हुन सकेका छैनन् । यसलाई कसरी टुंगोमा लाने रकम दिने वा नदिने भनेर बिमा कम्पनीहरुले निर्णय गर्न सकेका छैनन् ।
बिमा कम्पनीहरुले सुरुमा केहि समयको लागि भनेर बाहिर ल्याएको यस्तो योजना महामारी ब्यापक रुपमा फैलिएपछि बन्द गर्न खोजेका थिए । तर ब्यापक जनदवाव आएपछि यस्तो योजनाले निरन्तरता पाएको थियो । जसमा सरकारले साढे तीन अर्व भन्दा माथिको रकम तिर्न तयार भएको थियो । तर अहिले सरकारले प्रतिबद्धता रकम समयमै निकासा गर्ने प्रक्रिया समयमा अघि बढाउन नसक्दा कोरोना पुष्टि भएकाले पनि बिमा बापतको रकम पाउन सकेका छैनन् ।