काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एकीकरण नटुटोस् भन्ने लामो प्रयत्न गरिन्।
नेपाल कम्युनिस्ट पार्टीको एकीकरणलाई जोगाउनका निम्ति यान्कीकै प्रयत्नमा चिनियाँ हाईप्रोफाइल प्रतिनिधि मण्डल पनि नेपाल आएको थियो। उक्त प्रतिनिधि मण्डलको प्रयत्न नेपालमा रहेको कम्युनिस्ट बहुमतलाई खेर जान नदिनु नै थियो। तर चीनको प्रयत्न सफल हुन सकेन।
भारतीय संस्थापन भारतबिरोधी भावना जगाउने ओलीको बहिर्गमन जसरी पनि चहान्थ्यो। त्यो कुटनीतिक तुस संविधान जारी भएपछि ओलीले भारतविरोधी भावना जागृत गराउँदादेखि नै राखिएको थियो।
प्रदेश र प्रतिनिधि सभाको चुनावमा ओली–प्रचण्डकै गठबन्धन बलियो भएर आएपछि भारतीय संस्थापनले अर्को रणनीतिक चाल चल्यो– एमालेबाहेकको सरकार!
यसैकारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्डलाई बोलाएर भने ‘५ बर्ष नै सरकार चलाउनुस्, प्रधानमन्त्री लेखेर दिन्छु।’ तर प्रचण्डले त्यो प्रस्तावलाई ‘पेन्डिङ’मा राखिदिए। खासमा देउवाको भन्दा पनि ओलीविरुद्ध भारतीय पक्षले ल्याएको प्रस्ताव पेन्डिङमा राखेर प्रचण्ड अघि बढे।
भारतीय पक्षले बारम्बार उनलाई सरकार गिराउनका निम्ति पनि भनिरहेको थियो। तर ओलीको बहिर्गमन ‘अनेक कारणले’ हुने र नेकपाभित्र प्रचण्ड एकल नेतृत्वमा आउने राजनीतिक लाभका पछि लागे, भारतीय पक्षलाई अल्मल्याइरहेका थिए।
स्रोतका अनुसार भारतीय पक्षलाई त्यसरी अलमल्याउने प्रचण्डको चालपछि त्यहाँको संस्थापनले नेपालमा फरक पक्षलाई समर्थन गर्ने र प्रचण्डलाई विश्वासमा नलिने धारणा तयार पारेको थियो।
विभिन्न पक्षसँग कुराकानीमा रहेका प्रचण्डलाई बारम्बार सरकार गिराउन भनिएपछि गएको वैशाखदेखि उनी उक्त अभ्यासमा लागेका थिए। सोही बेला ओलीले भनेका थिए,‘केही नेता मिलेर मेरो सरकार गिराउन खोजिएको छ।’
सोही मौकामा ओलीले भारतविरोधमा धावा बोलिदिए। नयाँ नक्शा जारी गराएका थिए भने राम नेपालमा नै जन्मिएका हुन् भनी विवादास्पद अभिव्यक्ति दिए जसले नेपालमा भारतविरोधी भावनामा बढोत्तरी भएको त्यहाँको बुझाई भयो। ओलीको भारतमा तिव्र आलोचना भएको थियो।
नेकपा विभाजन पनि हुन नसक्ने अवस्था रहेका कारण प्रचण्डका कतिपय प्रयास ओलीले निस्तेज पारिदिएपछि ओलीलाई नै हातमा लिनका लागि भारतले आफ्ना जासुस संस्थाका प्रमुख काठमाडौं पठाएर नयाँ रणनीति अख्तियार गरेको बताइन्छ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा रअका प्रमुख सामन्त गोयल प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसै भेट्न आएका होइनन्’, स्रोतले भन्यो,‘जसरी पनि नेपालमा रहेको बहुमतलाई खत्तम बनाउने उसको रणनीति थियो, अहिले ओलीमार्फत गरिरहेको छ।’
भारतसँग सम्बन्ध बलियो बनाउनका लागि प्रचण्डले यसबीचमा निक्कै प्रयास गरेका थिए। सोही क्रममा प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा मुखै फोरेर भारतको समर्थन माग गरेका थिए। तर, भारतीय संस्थापन यस विषयमा केही पनि बोलेको छैन।
यसपछि प्रचण्ड चिनियाँ समीकरणका लागि सक्रिय भएका थिए। सोही शिलशिलामा उनलाई चिनियाँ राजदूतले भेटेको बताइएको छ।