नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूहरूलाई कारबाही गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज पनि चुनौती दिएका छन् । राष्ट्रिय कार्यकर्ता भेलापछि आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने –‘कारबाही गर्न किन ढिलो गर्नुहुन्छ ? छिटो कारबाही गर्नुहोस् ।’ भट्टराईले फागुन २३ गतेको सर्वोच्चको फैसला बमोजिम एमालेको २०७५ जेठ २ गतेको वैधानिक कमिटी अनुसार काम कारबाही हुनुपर्ने र २८ गतेको केन्द्रीय कमिटीको निर्णय फिर्ता गर्नुपर्ने दुई बुँदे माग आफूहरूको बटुलाइन भएको भन्दै यस अनुरूप नभए पार्टीभित्र अन्तरसंघर्ष जारी राख्ने बताए । उनले भने –‘निर्णय फिर्ता नभए अन्तरसंघर्ष चल्छ तर पार्टी विभाजन हुन्न ।’
भट्टराईले केन्द्रीय कमिटी र संसदीय दलको वैधानिक ढंगले डाकिने बैठकमा भने भाग लिने बताए । उनले ७ गतेको केन्द्रीय कमिटी बैठकमा भने नजाने बताए । देशभरका पार्टीका भेला बैठक प्रशिक्षण सञ्चालन गर्ने जनसंगठनका राष्ट्रिय भेला प्रदेशका भेला बैठक गरिने पनि उनले जानकारी दिए । ‘गाउँ जिल्ला स्तरमा पूर्ववत् कमिटीहरू ब्युँताएर कार्य सञ्चालन गरिनेछ ।’ उनले बताए । उनले आफूहरू पार्टी एकताको पक्षमा अझै रहेपनि प्रधानमन्त्री ओलीले पार्टी नेतासँग वार्ता गर्दिन भन्नु तानासाह शैली भएकाले पार्टी विभाजनमा ओली उद्यत भएको प्रतिक्रिया दिए । ‘उत्तर कोरिया र अमेरिका वार्तामा बस्न हुने तर उहाँले एउटै पार्टीका नेतासँग वार्तामा बस्दिन भन्नुभयो संवाद गर्दिन भन्नुभयो । उहाँ पार्टी विभाजनमा उद्यत हुनुहुन्छ ।’
भेलामा ४ हजार बढी अगुवा कार्यकर्ता सहभागी भई विभिन्न १० समूहमार्फत १७ बुँद्ये प्रस्ताव पारित गरेको प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।