बारा । जितपुर सिमरा उपमहानगरपालिका–२३ भुलही टोल बस्ने जाकिर हुसेनको छोरा १४ वर्षीय साहिद हुसेन मियाँको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुही टोल बस्ने २५ वर्षीय कियामुदीन मंसुरी, २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मिया अंसारी रहेका छन् ।
गत फागुन ११ गतेदेखि हराइरहेका साहिद फागुन २८ गते शुक्रबार बिहान जितपुर सिमरा उपमहानगरपालिका–१० बेहरास्थित फ्याकट्रीहरूको फोहर फाल्ने गरिएको डम्पिङ साइटमा सडीगली सकेको अवस्थामा शव फेला परेको थियो । उक्त घटनाका थप अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
पारिवारिक तथा जग्गा जमिन सम्बन्धी विवादका कारण रिसइवी रहेको, आपसी विवाद, झै–झगडा, प्रेम सम्वन्ध एवं आर्थिक लाभको उद्देश्यले उनीहरु तीनै जना मिलेर मार्ने योजना बनाई हत्या गरेको साहिदको हत्या गरेको खुल्न आएको छ ।
उनीहरु उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।