आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

किन प्रधानमन्त्री बन्न बेवास्ता गर्दै छन देउवा ?

मंगलबार, चैत्र ३ २०७७

काठमाडौँ– प्रतिनिधिसभा पुनःस्थापना र सर्वोच्चको आदेशले एमाले, माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रुपमा हेरिँदै आइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक भेटेर सरकारका नेतृत्व गर्न देउवालाई आग्रह गरिरहेका छन्। दाहाल एमाले इतर कांग्रेस, माओवादी र जसपाको सरकार बनाउन निरन्तर लबिङमा छन्।

जसपाका नेताहरु पनि कांग्रेससँग मिलेर सरकार बनाउने पार्टीभित्र र अन्तरपार्टी छलफलमा छन्। शुक्रबार दलबलसहित देउवा निवास पुगेका जसपा नेताहरुले ‘कुराकानी सकारात्मक’ भएको र केही दिनमै परिणाम निस्कने दाबी गरेका थिए। सार्वजनिक रुपमा जसपा नेताहरुले सरकारकै नेतृत्व गर्ने कुरा गरे पनि देउवा अघि सरेको खण्डमा ‘बार्गेनिङ’ गरेर छाड्ने मनस्थिततिमा छन्।

कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि ओलीलाई बिदाइ गरेर निर्णायक शक्ति कांग्रेस बन्नुपर्ने बताउन थालेका छन्। आइतबार म्याग्दी पुगेका पौडेलले आफूले भन्दाभन्दै सभापतिले आँट नगरेकाले ओलीको सरकार ढाल्ने एउटा अवसर गुमेको र अर्को गुम्न दिन नहुने बताएका थिए।

तर कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौपटक देशको प्रधानमन्त्री बन्ने प्रस्ताव र अवसर आउँदा पनि तयार देखिँदैनन्। उनले प्रचण्डलाई ‘परिस्थित परिपक्व भइ नसकेको’ जवाफ दिँदै आएका छन्। प्रचण्ड ओलीलाई सत्ताबाट बाहिर निकालेर देउवालाई त्यहाँ पुर्‍याउन लागे पनि देउवा आफैँ भने टसकामस भएका छैनन्। बिहीबार देउवा निवास बुढानीलकण्ठ पुगेका प्रचण्डले त्यसयता पनि दैनिकजसो फोनमा कुराकानी गरिरहेका छन्।

आफूलाई ज्योतिषीले सातौँपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको सार्वजनिक रुपमा बताउने सत्ता राजनीतिका चतुर खेलाडी देउवा पाँचौपटक अवसर आउँदा भने किन तयार छैनन् त? देउवा यतिबेला प्रधानमन्त्री बन्न तयार नहुनका पछाडि दुईवटा कारण रहेको उनका एक विश्वासपात्र नेताले बताए।

पहिलो कारण भर पर्न नसकिने तीन दलको अकंगणित। प्रतिनिधिसभामा मतदान गर्न सक्ने अवस्थामा कांग्रेसँग ६१, माओवादीसँग ४८ र जसपासँग ३२ गरी जम्मा १४१ जना सांसद छन्। माओवादी केन्द्रसँग ५२ जना सांसद भए पनि लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरी चारजना पद गए पनि एमालेमै बस्ने नफर्किने लगभग निश्चित भइसकेको छ। सरकार बनाउन १३८ चाहिने अवस्थामा १४१ भए पनि उक्त मत भरपर्दो नभएको विश्लेषण देउवाले गरिरहेका छन्।

ओलीविरुद्ध अविश्वास प्रस्ताव राखेर जाँदा उनले माओवादी वा जसपा तर्फका केही सांसदलाई सजिलै प्रभावित पारेर बहुमत पुर्‍याउनबाट रोक्ने संभावना रहने देउवा पक्षको विश्लेषण छ।

दोस्रो कारणः स्रोतका अनुसार देउवा आफ्नै नेतृत्वमा सरकार बनाउन तयार नहुनुको अर्को कारण केही गरी आफ्नो पक्षमा बहुमत पुगे पनि सहज रुपमा चालउन सकिँदैन भन्ने हो। उनका विश्वासपात्र अर्का नेता भन्छन्, ‘हामी सरकारमा गयौँ भने पनि सडकमा पुगेको कम्युनिष्टको झगडा संसद फर्केको छ। त्यसले सहज रुपमा काम गर्न दिँदैन। दाहाल र ओली एकअर्कालाई सिध्यान लाग्छन्। एमालेभित्रको नेपाल पक्षको कुरा त छदै छ। त्यसले हामीलाई पनि असर गर्छ।’