काठमाडौं । लामो समयपछि प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको मौनता तोडियो। तर, सोमबार तोडिएको उक्त मौनताबीच सुरु भयो ‘२८’को दशा। २८ अर्थात् प्रधानमन्त्री ओलीले अध्यक्षको हैसियतमा ५ दिनअघि एमालेभित्र लिएका निर्णय नेपाल पक्षले नमान्ने भएपछि वार्ताले सकारात्मक मोड लिएन।
ओलीले बालुवाटारमा २८ फागुनमा बैठक राखेर अध्यक्ष र महासचिवसहितका सबै पदाधिकारी खारेज गरेका थिए भने माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य नियुक्ति गर्दै रामबहादुर थापा बादललाई बागमती प्रदेश ईञ्चार्ज तथा लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिएका थिए।
अन्यलाई भने केन्द्रीय कमिटीमा राख्दै अर्को बैठक ७ चैतमा बालुवाटारमा डाकेका थिए।
समानान्तर कमिटी गठन गर्दै मंगलबार र बुधबारका लागि नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला राखेका बेला यो २८ को अडान र दशा एमालेमा सुरु भएको बताइन्छ।
उच्च स्रोतका अनुसार यहि दशाले एमालेलाई विभाजनको विन्दुसम्म पुराउन सक्ने अवस्था आएको छ। एमालेभित्रको अन्तरविरोधको समाधान खोज्नका लागि प्रधानमन्त्री ओली धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुगेका थिए।
अझ वार्ता र छलफल गर्ने विषयमा कुराकानी भए पनि मिति तय नभएको भिम रावलले जानकारी दिए। सर्वोच्च अदालतले नेकपा दर्ता खारेज गर्दै एमाले र माओवादी केन्द्र अलग पार्टी भएको आदेश दिएपछि एमालेभित्र विवाद चर्किएको छ। नेपाल समूहले अर्याल होटलमा बसेर अन्य निर्णय गरिरहेको छ भने बालुवाटारबाट अध्यक्ष ओलीले आफूइतरको समूहलाई कर्नरमा पार्ने निर्णय नै गरिदिएका छन्।
‘वार्ताको सुरुआत हुनु ठूलो कुरा हो। अब समाधान नै खोज्नेतिर हामी लाग्नेछौं। तर यो समस्याको समाधान तत्कालै हुने संकेतचाहिँ पाइएको छैन’, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले भने,‘हामी पूर्ववत अवस्थामा फर्किएपछि नै विधिवत रुपमा निर्णय लिनुपर्छ भन्ने मान्यतामा छौं।’
ओलीका तर्फबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली र सुवास नेम्वाङ थिए भने नेपाल समूहबाट उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए।