काठमाडौं । एमाले नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जसपाका सांसद रेशम चौधरीलाई रिहा गर्न सरकार सकारात्मक रहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेम्वाङले सो कुरा बताएका हुन् ।
रेशम चौधरी २०७२ सालमा भएको टीकापुर घटनामा हिंसा भड्काउने मुख्य आरोपी ठहर भइ अहिले जेल जीवन बिताइरहेका छन् । नेम्वाङले भने, ‘जसपाको मागलाई लिएर सरकार सकारात्मक छ, कानूनबमोजिम हामी अगाडि बढेका छौं, यसबारे सरकार सदा सर्वदा सकारात्मक छ ।’
साथै पत्रकारको प्रश्नमा उनले थपे, ‘सर्वोच्चको फैसलापछि संसदमा रहेका दलले आफ्नो स्थिति प्रष्ट नगरेका र सरकारलाई दिएको समर्थनबारे पनि नबोलेका र अहिल्यै नै भन्न हतारो हुन्छ ।’
जसपासँग निरन्तर कुरा भएको र रेशम चौधरीलगायत मधेश आन्दोलनका विषयमा मधेशी दल गम्भीर भएकोसमेत नेम्वाङले खुलाए । २०७२ साल साउन २६ गतेबाट कैलालीमा सुरु भएको अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच टक्कर हुँदा धनजनका ठूलो क्षति भएको थियो ।
उक्त आन्दोलन उग्र र हिंस्रक बन्दै गएर एक नाबालक र ८ जना सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । तर, सोही घटनाको सन्दर्भमा टीकापुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित चौधरीले यतिबेला काठमाडौं डिल्लीबजारस्थिति जेलमा सजाय काटिरहेका छन् ।