काठमाडौं । प्रचण्ड र माधवलाई पर्खेर सभामुखले बैठक सुरु नगरेपछि प्रधानमन्त्री केपी ओली बालुवाटार फर्किएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन् । निर्धारित समयमा संसद बैठक सुरु नभएपछि प्रधानमन्त्री ओली बाहिरिएका हुन् ।
पुनःस्थापित संसद बैठक आज दिनको ४ बजे बोलाइएको थियो । सर्वोच्च अदालतले नेकपा विवादमा ऋषि कट्टेल नेतृत्वमा रहेको नेकपालाई आधिकारिकता दिएपछि प्रचण्ड–नेपाल नेतृत्वको नेकपा छलफलमा जुटेको छ ।
प्रचण्ड–नेपाल छलफलमै रहेकाले संसद बैठक सुरु हुन सकेको छैन । प्रधानमन्त्री ओली भने आज ४ बज्नुअघि नै संसद भवन पुगेका थिए । तर बैठक बोलाउन सभामुखले ढिला गरे।
प्रतिनिधिसभा बैठक सुरु नै नभई संसद भवन छाडेका प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन् ।
ओलीले सर्वोच्च अदालतको फैसलालगत्तै बालुवाटारमा अहिले दलको बैठक डाकेका हुन् । बैठकको लागि सबै सांसदहरुलाई सूचना पठाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।