बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्ड–नेपालले सभामुख सापकोटालाई त्यस्तो के आदेश दिए? तनावमा बैठक गराउँदैछन्!

आइतबार, फाल्गुन २३ २०७७

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतको समूहले सभामुख अग्नी सापकोटालाई तनावमा पारेका छन्। 
आइतबार बिहान उनको कार्यकक्षमा २० मिनेटजति कुराकानी गरेका प्रचण्ड र नेपालले दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता पेश गर्ने मेसो मिलाउन दबाब दिएपछि सापकोटा तनावमा परेका हुन्। 
यति मात्र होइन, नेकपा संसदीय दलको हैसियतमा प्रचण्डलाई पहिला बोल्न दिनका लागि पनि सापकोटालाई आदेश दिइएको छ जसका कारण उनलाई बैठकमा कसरी प्रस्तुत हुने भन्ने नैतिक कष्ट परेको बताइन्छ।
पुनःस्थापित प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो ४ बजे नयाँ वानेश्वरस्थित संघीय संसदमा बस्नेगरी कार्यसूची तयार पारिएको छ। बैठक अघि नेकपाको आधिकारिकताका विषयमा निर्वाचन आयोगले टुंगो लगाएको खण्डमा सापकोटालाई सजिलो त हुनेछ तर त्यसो भएन भने प्रचण्डले दिएको आदेश मान्नुपर्ने अवस्था छ। 
यसरी गुटीय राजनीतिको प्रभावमा परेको खण्डमा उनीविरुद्ध महाअभियोगको अर्को प्रस्ताव समेत दर्ता हुन सक्ने अनुमान गरिएको छ। त्यो प्रस्ताव ओली पक्षले तयार पारिरहेको छ। 
स्रोतका अनुसार सापकोटाले सभामुखको भूमिकामा तटस्था देखाएर प्रक्रियागत हिसाबमा नचलेको खण्डमा प्रतिनिधि सभामा बबाल हुनेछ। उनलाई बैठक स्थगित गर्नका लागि बाध्यकारी पार्ने ओली समूहको तयारी छ। त्यसो हुँदा अविश्वासको प्रस्ताव दर्ता हुनेछैन र सरकारले अधिवेशन स्थगनको निर्णय समेत गर्न सक्ने तयारी गरेको छ। 
‘सर्वोच्च अदालतले बैठक राख्नु भनी समयसीमा नै तोकेका कारण बैठक राखिएको छ। तर निरन्तर बैठक चलाउनू भन्ने आदेश नभएका कारण सरकारले अधिवेशन नै अन्त्य गरिदिन सक्नेछ’, स्रोतले भन्यो,‘यसमा सभामुख कसरी प्रस्तुत हुन्छन् भन्ने विषय मुख्य कुरा हो।’
यस्तो दबाब दिनका लागि प्रचण्ड र नेपाललगायतका नेताले देव गुरुङको कार्यकक्षमा लामो समयसम्म छलफल गरी सापकोटालाई भेटेका थिए। सापकोटा यसअघि नै तटस्थ नरहेको भनी विवादमा परिसकेका छन्।