काठमाडौं । चौतर्फी आलोचना भएपछी निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादको टुंगो आइतबार लगाउने बताएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबारभित्रमा नेकपाको आधिकारिकता विवाद टुंगो लगाउने बताएर त्यो भन्दा अगाडी नै टुंगोमा पुग्ने संकेत गरेका हुन् ।
आज आयोग पुगेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग प्रमुख आयुक्त थपलियाले आइतबार आयोगको बैठक राखेर आधिकारिकताबारे निर्णय गर्ने बताएको स्थायी समिति सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए ।
पाण्डेसहित लीलामणि पोखरेल, रामनारायण बिडारी, कृष्णभक्त पोखरेल लगायतका नेताहरु नेकपाको आधिकारिकता, नाम र चुनाव चिन्हको विषयमा निर्णय दिन आयोगले ढिलाई गरेको भन्दै ‘ताकेता पत्र’ लिएर आजै दिउँसो आयोग पुगेका हुन् ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । प्रचण्ड–नेपाल पक्षले माघ २० गते आयोगमा बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउँदै आधिकारिता आफूहरुले पाउनुपर्ने दावी गरेको थियो ।
‘तपाईँहरुले नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिलाई मान्यता दिनुभयो,’ प्रमुख आयुक्त थपलियासँग राखेको असन्तुष्टिलाई उद्धृत गर्दै पाण्डेले भने, ‘तर, बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइसकेको निर्णय गर्न किन आनाकानी गर्नुभएको हो ?, त्यही भएर ताकेता पत्र लेखेर ल्याएका हौं। ’प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया प्रधानमन्त्री ओलीका बिश्वास पात्र हुन् । सचिव बाट अवकाश पाउने एक महिना अगाडी नै उनलाई ओलीले आयोगमा नियुक्त गरेका थिए ।