काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ गाडीबाटै काठमाडौं आउने भएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहमा सहभागि हुन उनी गाडीमै आउन लागेका हुन् ।
उनी काठमाडौं बाहिर रहेकोले सो कार्यक्रमको सम्बोधनका लागि ल्याउन सरकारले हेलिकोप्टर तयारी अवस्थामा राखेको थियो । तर, विप्लवले हेलिकोप्टर चढ्न नमानेको स्रोतले बताएको छ ।
‘सरकारले हेलिकप्टरबाटै क. विप्लवलाई काठमाडौं ल्याउने प्रस्ताव राखेको थियो,’ विप्लव निकट एक नेताले भने, ‘तर, हेलिकोप्टरमा चढ्दा राम्रो सन्देश नजाने भएकाले पार्टीले व्यवस्था गरेको गाडीमै उहाँ आउँदै हुनुहुन्छ ।’
उनी आजै राति काठमाडौं आउने ती नेताले बताए । सरकार र विप्लव समूहबीच दुई चरणको वार्तापछि तीन बुदेँ सहमति भएको छ । बिहिबार मात्र मन्त्रीपरिषद् बैठकले ‘विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गरेको छ भने तीन बुदेँ सहमति अनुमोदन गरेको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव एउटै मञ्चमा सम्बोधनका लागि उपस्थित हुँदैछन् ।