काठमाडौं । आफूलाई हटाएर ‘पुतली सरकार’ बनाउनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएपछि प्रतिनिधि सभा विघटन गरेको तर्क गर्दै आएका छन्, प्रधानमन्त्री केपी शर्मा ओली।
२३ फागुनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनका लागि विभिन्न कोणबाट प्रचण्ड–नेपाल समूह, कांग्रेस र जसपाको एउटा पंक्ति सहमतिमा पुग्न लागेको छ। प्रधानमन्त्री ओलीको दाबी छ,‘त्यसो गरी विभिन्न रंगीविरंगी दल मिलाएर, जोरजाम गरेर पुतली सरकार बनाउने मनसाय प्रचण्डहरूको छ।’
बुधबार चितवन पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने इच्छालाई सार्वजनिक गरेका थिए। सोहीअनुसार ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रचण्ड समूहसहित जसपाको सहमतिमा आफूलाई प्रधानमन्त्री प्रस्तावित गर्नुपर्ने देउवाको भनाई छ। यसमा प्रचण्ड–नेपाल समूह सकारात्मक छ तर जसपाभित्र भने यस विषयमा विवाद देखिएको छ।
उपेन्द्र यादव, डा. बाबुराम भट्टराई सकारात्मक भए पनि महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेता भने देउवालाई प्रधानमन्त्री बनाउनका लागि सहमत छैनन्। उनीहरूले अविश्वासको प्रस्तावमा समर्थन नगर्ने पनि संकेत गरिरहेका छन्।
यसैले पनि झापा पुगेर प्रधानमन्त्री ओलीले भनेका थिए,‘मलाई हटाएर देखाउनुहोस् तर सजिलोचाहिँ छैन है!’ ओलीलाई हटाउनका लागि विभिन्न दलबीच अनौपचारिक कुराकानी र सहमति भइरहेकै थियो। नेपाली कांग्रेसका तर्फबाट कृष्णप्रसाद सिटौलाको सहजीकरणमा प्रचण्ड–नेपालसँग देउवालाई प्रधानमन्त्री बनाउने सहमति जुटेको थियो। तर जसपाभित्रको आन्तरिक विवादले भने अप्ठेरोमा पार्ने निश्चित छ। जसपाभित्रको तत्कालिन राष्ट्रिय जनता पार्टीका नेता र सांसद अविश्वासको प्रस्तावमा समर्थन गर्ने मुडमा छैनन्।
स्रोतका अनुसार २४ जना सांसद यसको विपक्षमा रहेका कारणले ओलीविरुद्धको अविश्वासको प्रस्ताव असफल हुने सम्भावना रहेको छ। यसो हुँदा अर्को एक बर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने हुँदा ओली नै निरन्तर प्रधानमन्त्रीमा रहने सम्भावना बढेको बताइन्छ। यद्यपि पास गराएरै जाने जोडबलमा लागेका प्रचण्ड, देउवालगायत असफल हुने सम्भावना पनि छ। त्यसैले यसबेला ओलीले भने जस्तो देउवा पुतली सरकारका प्रस्तावित प्रधानमन्त्री मात्र हुने खतरा बलियो रहेको छ।
आफू प्रधानमन्त्री हुने अवसर आएपछि देउवाले दलभित्र सहमति खोज्नका लागि पदाधिकारीको बैठक विहीबार डाकेका छन्। तर अहिले रामचन्द्र पौडेललगायतका नेता भने सरकारमा गई हाल्नुपर्ने पक्षमा छैनन्। उनीलगायत गगन थापासहितको टोलीले सरकारमा जाने भन्दा पनि अब चुनावी बाटोमा जाने विषयको बहसलाई छेडेका छन्।