आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

शिवरात्रिको मेला निम्ति मन्त्री प्रभु साहले किसानको गहुँबालीमा डोजर चलाए

बुधबार, फाल्गुन १९ २०७७

सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा रौतहटको मौलापुुरमा किसानको गहुँबालीमा डोजर लगाइएको छ । शिवरात्रिको मेला तथा सांस्कृतिक कार्यक्रम आयोजनास्थल बनाउन मन्त्री साहले गहुँबालीमा डोजर लगाउन निर्देशन दिएका हुन् ।

मन्त्रीको निर्देशनपछि सोमबार ना.१ग ८०५ नम्बरको डोजरले एक बिघा पाँच कट्ठा क्षेत्रफलमा लगाइएको गहुँबाली मैदान बनाइएको छ । डोजरले गहुँबाली फाँड्दै गर्दा केही किसान धरधरी रोइरहेका थिए । केही किसानले रगत–पसिना एक गरेर लगाएको बाली पाक्ने वेलामा मन्त्रीको निर्देशनमा नष्ट गरिँदा आफूहरूमाथि अन्याय भएको बताए ।

साहले आफ्नो गृह जिल्ला रौतहटको मौलापुर नगरपालिका–५ मा शिवरात्री मेला आयोजना गर्ने स्थानका लागि भित्र्याउने बेला हुन लागेको गहुँबालीमा सरकारी डोजर लगाएका हुन् ।

मन्त्रीको ठाडो आदेशमा नगरपालिकाले सरकारी डोजर लगाएर मेला लगाउने स्थानका लागि किसानको तीन बिगाहामा लगाइएको गहुँबाली ध्वास्त पारिएको छ । मौलापुर नगरपालिकाले नै फागुन २७ मा मेला आयोजना गरेको हो । उक्त नगरपालिकाकी प्रमुख साहकै पत्नी रिनादेवी साह हुन् ।

साहले पनि गहुँबाली नष्ट गरिएको स्वीकार गरिन् । यद्यपि क्षतिपूर्ति दिइने उनको भनाइ छ । ‘शिवरात्री मेलाका लागि गहुँबाली नष्ट गरिएको हो’, उनले भनिन्, ‘हामी किसानको क्षति भएको बालीअनुसारको पैसा दिन्छौं ।’ गाउँलेले भने अन्यत्र खाली जग्गा हुँदाहुँदै जर्बर्जस्ती काट्ने बेला भएको गहुँमा डोजर चलाइएको भन्दै आपत्ति जनाएका छन् ।