काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड समूहबाट अध्यक्ष मानिएका नेता माधवकुमार नेपाललाई आगामी प्रधानमन्त्रीका लागि प्रस्तावको अभ्यास सुरु भएको छ।
नेपाली कांग्रेसले सरकार नेतृत्वमा सहकार्य नगरेको खण्डमा अध्यक्ष प्रचण्डले नेपाललाई आगामी प्रधानमन्त्रीका रुपमा प्रतिनिधि सभामा प्रस्ताव गर्ने भएका हुन्। यसअघि प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराउने क्रममा प्रचण्डको नाम प्रस्तावित थियो।
तर प्रतिनिधि सभा विघटन भएपछि प्रचण्डले प्रधानमन्त्रीको लोभ नभएको बताएका थिए। सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि पनि उनी प्रधानमन्त्री आफू हुन नचाहेको बताइरहेका छन्।
‘पहिलो प्रयत्न कांग्रेससँगको सहकार्यमा सरकार बनाउने हुन्छ। जहाँ जनता समाजवादी पार्टीको पनि सहयोगको कसरत हुनेछ। ओलीसँग सहकार्य र समन्वय नहुने भएपछि यी विकल्प खोजिएका हुन्’, उच्च स्रोतले भन्यो, ‘अन्य दलले प्रधानमन्त्रीका लागि प्रस्ताव गरे पनि प्रचण्ड अहिले बन्नु हुन्न, बरु माधवकुमार नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिनेछ।’
नेपाली कांग्रेस सरकारमा नजाने र जनता समाजवादी पनि तटस्थ बस्ने अवस्था आए पनि एक जना प्रस्तावित प्रधानमन्त्री चाहिने अवस्थामा नेपाललाई अगाडि सारेर प्रचण्ड समूह संसदमा प्रस्तुत हुने भएको छ।
त्यसका लागि संसदीय दलको नेता फेर्दा पनि आधिकारिक रुपमा नेपालको नामलाई अगाडि सार्ने तयारी भएको उच्च स्रोतले जनाएको छ। ‘संविधान जोगिएको छ अब प्रधानमन्त्री बन्छु भन्ने महत्वकांक्षा होइन’, प्रचण्डले भन्ने गरेका छन्,‘हामीबाट हुने अवस्था आएको खण्डमा माधवजीलाई अगाडि सार्ने हो।’
कतिपयले भने नेकपाभित्र प्रचण्डको यो राजनीतिक खेल रहेको बताएका छन्। प्रधानमन्त्रीमा नेपाललाई अगाडि सारेपछि ओलीसँग भिँड्नुपर्ने अवस्था हुनेछ। यसले पूर्र्वएमालेबीचको बैमनश्यता अझ बाक्लो हुँदा राजनीतिक रुपमा प्रचण्डलाई फाइदा मिल्ने विश्लेषण गरिएको छ।