काठमाडौँ– पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दै केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अघि नबढ्ने भएको छ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर भएसँगै पुस ५ गते दर्ता भएको अविश्वासको प्रस्ताव स्वतः पुनर्जिवित हुने भए पनि उक्त प्रस्तावलाई अघि नबढाउने तयारी नेकपाको प्रचण्ड–माधवकुमार नेपाल पक्षले गरेको हो।
प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने, ‘यसपटक प्रचण्ड प्रधानमन्त्री बन्नु हुन्न। संसदमा पेश भएको अविश्वासको प्रस्ताव अघि बढ्दैन। ओलीविरुद्ध अविश्वास प्रस्ताव राख्नु परेमा अर्को प्रस्ताव आउँछ।’
संविधानको धारा १०० मा सरकार गठन भएको दुई वर्षपछि अविश्वासको प्रस्ताव पेश गर्न पाइने र अविश्वासको प्रस्ताव पेश गर्दा वैकल्पिक प्रधानमन्त्रीको उम्मेद्वार समेत दिनुपर्ने व्यवस्था गरेको छ।
पुस ५ गते ओली प्रतिनिधिसभा विघटन सिफारिस गरेपछि नेकपाको दाहाल–नेपाल खेमाका ८३ जना सांसदले हतार–हतार अविश्वासको प्रस्ताव दर्ता गराउँदा वैकल्पिक प्रधानमन्त्रीका रुपमा प्रचण्डको नाम प्रस्ताव गरेका थिए।
बुधबार पेरिसडाँडामा बोलाइएको स्थायी समिति बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अविश्वास प्रस्ताव परिमार्जन हुन सक्ने संकेत गरे। उनले भने, ‘आवश्यकता परेमा त्यसबारेमा नयाँ ढंगले सोच्छौँ।’