सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राजनीतिमा नयाँ गोरेटोः निर्णायक बन्यो देउवाको दैलो

बुधबार, फाल्गुन १२ २०७७

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादको चटारो प्रतिनिधि सभाले भोगेको थियो। जसलाई मंगलबार साँझ सर्वोच्च अदालतको सवैधानिक इजलाशले पुनःस्थापना गर्ने आदेशसँगै राजनीति फरक कित्तामा मोडिएको छ। 
प्रधानमन्त्री केपी शर्मा ओलीनिवास बालुवाटारमा केन्द्रित रहेको मुलुकको राजनीतिले केही समय खुमलटारको आँगनलाई पनि स्वीकार गरेको थियो। तर अब दोस्रो दलका रुपमा प्रतिनिधि सभामा रहेको नेपाली कांग्रेस र त्यसमा पनि सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठको दैलो निर्णाय बनेको छ। 
संसद पुनःस्थापनासँगै नयाँ सरकारको समिकरणका विषय सतहमा छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनिसकेका छन्,‘ओलीसँग सहकार्य हुँदैन, देउवालाई प्रधानमन्त्री स्वीकार गर्न कुनै आपत्ति छैन।’
यसैले बुढानिलकण्ठको दैलो निर्णायक भयो। यसैकारण बुधबार प्रचण्ड र माधवकुमार नेपाल आगामी सरकारको पैगाम लिएर बुढानिलकण्ठको दैलोमा पुगेका छन्। 
‘यो राजनीतिको नयाँ गोरेटो हो। अब नेपाली कांग्रेस नै निर्णायक शक्ति बनेको छ। प्रचण्ड हुन् या ओलीको नेकपा कांग्रेससँग नमिलि कुनै सरकार बन्ने सम्भावना छैन। त्यो दुवैमा कांग्रेस नै निर्णायक छ’, उच्च स्रोतले भन्यो। 
त्यसो त बुधबारै प्रचण्ड र नेपालले देउवालाई आगामी प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन्। 
प्रचण्ड–नेपालले आगामी सरकार ओलीबाहेकको राष्ट्रिय सहमतिको हुनुपर्ने जनाउँदै त्यसमा जनता समाजवादी पार्टीलाई पनि समेटेर जानुपर्ने बताएका छन्। देउवाले अहिले विभिन्न पक्षसँग छलफल गरेर सरकारका विषयमा कुराकानी हुने बताएका छन्। 
उनले पार्टीको केन्द्रीय समितिको, संसदीय बोर्डको बैठक राखेर नै निर्णय लिने जवाफ दिएका छन्। कांग्रेस संसदीय दलको नेता समेत रहेका देउवा निर्णायकसँगै आगामी सरकारको प्रमुख बन्ने सम्भावना अति नै बलियो बनेको छ।
तैपनि चुनावको लविङ गरिरहेका उनले नेकपाको कुनै पनि समूहसँगको सहकार्य नगर्ने विषयमा पनि सोचीरहेका छन्। कतिपय कांग्रेसीले उनलाई भनेका छन्,‘सदन फर्किएको छ, बैठकमा सहभागी बनौं। तर प्रचण्ड वा ओली कोहीसँग पनि सहकार्य नगरौं, फेरि चुनावी बाटोमा नै जाऊँ।’
डेढ बर्षपछि नेपालमा जसरी पनि चुनाव गराउनै पर्ने अवस्था भएकाले अहिले प्रतिनिधि सभा पुनःस्थापनाले संविधानले जितेका कारण अब केही महिनामा चुनावी बाटोमा लाग्ने विषयमा पनि देउवा विचरणमा रहेको बुढानिलकण्ठ स्रोतले जनाएको छ।