बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विप्लवले सरकारसँग वार्ता गर्न खोज्दा अरुलाई किन छटपटी?

सोमबार, फाल्गुन १० २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत रुपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनीतिक दललाई मन नपरेको आरोप लगाएका छन् । 

आइतबार पाँचौँ इन्द्रदह पर्यटन उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थाको विरोधमा हतियार उठाइरहेको विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गरी समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेपछि कतिपयमा आतंक छाएको बताएका हुन् । 

विप्लव समूहले वार्ता गर्ने भएपछि उक्त समूहलाई प्रयोग गर्न चाहनेमा छटपटी भएको प्रधानमन्त्रीको आरोप थियो । पृथकतावादको कुरा गरिरहेको सिके राउत पृथकतावाद छाडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउँदा पनि अरुलाई छटपटी भएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

‘हतियार उठाइरहेका, व्यवस्थाका विरोध गरिरहेका विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गर्छौं,  हामी वार्ता गरेर समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेछन्, कतिपयलाई आतंक छायो । विप्लवलाई प्रयोग गरूँला कि भनेको त वार्ता गरेर समस्या समाधान गर्छु पो भन्न थाले,’ ओलीले थपे, ‘देश त साँच्चै हरेक हिसाबले अघि बढ्छ कि क्या हो, पृथकतावादको कुरा गरिरहेको सिके राउत पृथकतावाद छाडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउँछु भने । अब विप्लव वार्ता गर्छु भन्दै छन् । केहीलाई छटपटी भएको छ ।’ 

उनले देश, जनता र विकासप्रति इमान्दार भई योगदान गर्नुपर्ने बताए । राष्ट्रिय एकता कायम गर्ने कुरामा र देशलाई एकजुट बनाएर लाने कुरामा एकताबद्ध हुनुपर्ने उनको भनाइ छ । 

वैशाख १७ र २७ गते चुनाव हुने दाबी गर्दै प्रधानमन्त्री ओलीले चुनावी अभियानमा जुट्न पनि सबैलाई आग्रह गरे ।