काठमाडौं । दुई खेमामा चर्को आलोचनामा विभक्त भइसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष मध्य पुष्पकमल दाहाल प्रचण्डलाई राम जन्मभूमीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको प्रश्न किलकिलेमा अड्किएको माछीकाँडा बनेको छ।
मंगलबार चितवन पुगेका प्रचण्डले यहि प्रसङ्गमा फेरि भने,‘मेरो निर्वाचन क्षेत्रमा राम जन्मिएका, अयोध्या हो भन्ने प्रमाणित भए त मभन्दा खुशी कोही हुँदैन।’
सडकमा धर्म निरपेक्षता र गणतन्त्र जोगाउन भनी ओलीविरुद्ध चर्का भाषणमा उत्रिएका उनलाई अहिले राम प्रचण्डको निर्वाचन क्षेत्रमा जन्मिएका होइनन् भन्न पनि सकस भएको छ।
अघिल्लो महिनाको अन्तिम सातातिर आफू पक्षीय कार्यकर्ताको सभामा ओलीले भनेका थिए,‘यहाँ राम मन्दिर बनाउन सुरु गरिसकिएको छ।
अयोध्यापुरी यहिँ हो। यसै निर्वाचन क्षेत्रबाट चुनाव जितेका प्रचण्डले कहिल्यै रामका विषयमा बोलेका छन्?’
प्रचण्डले ओलीलाई तथ्यहिन कुरा गरेको पनि टिप्पणी गरेका थिए। काठमाडौंकै सभामा उनले ओलीलाई राम जन्मेको प्रमाणित गर्न चुनौति दिएका थिए।
तर ठूलो हिन्दू हिस्सा रहेको उनको निर्वाचन क्षेत्रमा पुगेर ओलीले सोधेको प्रश्नको जवाफमा प्रचण्ड रक्षात्मक भन्दा अरु केही हुन सकेका छैनन्।
‘होइन भनौं भने पछि चुनाव लड्ने क्षेत्र कहाँ खोज्ने? हो भनौं भने धर्मनिरपेक्षताको सवालमा बोलिरहेको नेताको नुर गिर्ने देखिन्छ। ओलीले प्रचण्डलाई सकसमा पारेका छन्’, एक नेताले भने,‘यस्तो धर्मसंकट तर्कले प्रचण्डलाई घेरेको छ।’
यो विषय र प्रसङ्गमा दोहोरी नै चल्न थालेको छ। केही दिन अघि बुटवलमा भएको जनसभाअघिको एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डलाई लक्षित गर्दै भने,‘प्रमाणित गर्न चुनौति दिने अरे, राम जन्मिएको हो की होइन भनेर।
अयोध्यापुरी नै त्यहिँ छ त इतिहास र खोजले पुष्टि गरिसकेको छ। अब के म राम जन्माउने कौशल्याको सुडेनी कहाँ छ भन्दै खोज्दै जाऊँ?’
प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा वैदिक र धार्मिक तर्कलाई अगाडि सार्दै प्रचण्डलाई सकसमा पार्न थालेका छन्। उनले पशुपति दर्शन गरेको विषयले पनि नेकपाभित्रको विरोधका स्वर र समर्थनका आवाज बलिया हुँदै गएको देखिएको थियो।
‘प्रचण्डको जनाधारलाई नै धक्का पर्नेगरी ओली आक्रामक भएर अगाडि बढेका छन्। उनमा जुन प्रकारको निडरता छ त्यसले प्रचण्डको होस उडेको देखिन्छ’, नेकपा नेता भन्छन्,‘अब त चुनाव लड्न कहाँ जाने?
जहाँ गए पनि हार्नुभन्दा अर्को विकल्प नभएको भन्ने ठूलो स्वर ओलीले गरिरहेका छन्।’