वाग्लुङ, फागुुन ३ काठेखोला गाउँपालिका २ दहपानी बस्ने ८४ वर्षीय याम बहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय सोम बहादुर बोहोरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दोबिल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सोम बहादुर, याम बहादुर, सोही ठाउँ बस्ने ३६ वर्षीया लक्ष्मी चापागाई र ६५ वर्षीया बिष्णुमती चापागाई लगायतका व्यक्तिहरुबीच झै(झगडा हुँदा सोम बहादुरले दाउराको चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका याम बहादुर केसीको धवलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै कुटपिटमा घाइते भएका अन्य ५ जनामध्ये बिष्णुमती चापागाईलाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाईएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।