आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

महामारीले वैदेशिक लगानी प्रभावित, जम्मा ४ अर्ब रकम मात्रै मुलुक भित्रियो

मंगलबार, माघ २० २०७७

काठमाडौं ।  महामारीको असर बैदेशिक  लगानीमा समेत परेको छ। महामारी बिश्वभर फैलिएकाले लगानीकर्ताले स्वदेश तथा बिदेश दुबै देशमा लगानी घटाएकाले बैदेशिक लगानीमा कमि आएको देखिएको छ ।

गत वर्षको यहि समयमा ६ अर्ब ५७ करोड बैदेशिक लगानी आएको थियो । तर यो वर्षको पुष मसान्तसम्म भने यस्तो लगानीमा ३१ प्रतिशतले कमि आइ जम्मा ४ अर्ब ७५ करोड मात्रै बैदेशिक लगानी आएको छ ।

लगानी बोर्ड र उद्योग विभागले लगानी स्वीकृतिमा कमि नआएको बताएपनि देश भित्रने रकममा भने कमि आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा १६ अर्ब लगानी भित्रेकोमा गत वर्ष जम्मा १९ अर्ब भित्रिएको थियो । यो वर्ष लगानीमा थप संकुचन आउने निश्चीत देखिएको छ ।

बैदेशिक लगानी भित्राउनका लागि नै भनेर सरकारले एकै ठाउबाट सरकारी सेवा  दिनका लागि एकल बिन्दु सेवा केन्द्र मात्रै होइन बैदेशिक लगानी तथा प्रविधी हस्तान्तरण ऐन समेत संसोधन गरिसकेको छ ।

साथै देशको क्रेडिट रेटिङ नहुँदा लगानी आएन भन्ने गुनासो पछि क्रेडिट रेटिङ गराउनका लागि विदेशी रेटिङ कम्पनी फिचलाई जिम्मा दिइसकेको  छ  । तर महामारीका कारण फिचले आएर यहाँ काम गर्न सकेको छैन ।

सरकारले विभिन्न प्रयास गरेको देखाएपनि लगानीकर्ता भने अहिलेसम्म आकर्षित हुन सकेका  छैनन् । लगानी गर्छु भनेर प्रतिबद्धता देखाएपनि अहिलेपनि लगानीकर्ताले नेपालमा लगानी गर्न जोखिम देखिरहेका छन् । जसका कारण नै प्रतिबद्धता  गरेको झिनो रकम पनि नेपाल आउन सकेको छैन ।

गत वर्ष  लगानी बोर्ड र उद्योग विभागले गरेको लगानी स्वीकृतिका आधारमा पौने चार खर्बको लगानी स्वीकृत भएको  थियो । तर यो वर्षको  मंसिरसम्म जम्मा ४ अर्ब ७५ करोड रकम भित्रिएको  नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 बिदेशी लगानीकर्ताको लगानी स्वीकृति गर्ने तर त्यसलाई कार्यान्वयनमा लान सरकारी निकायले चासो नदिने मात्रै होइन  असहयोगका कारण पनि लगानी भित्रन नसकेको होे ।

सरकारलाई यो पटक महामारी भनेर पन्छिने मौका छ । तर महामारी अघि पनि त सरकारले बैदेशिक लगानी खास भित्राउन नसकेको  प्रष्ट छ ।

नीतिगत संसोधन गर्दापनि  बैदेशिक लगानी भित्रन नसक्नुले के प्रष्ट पार्छ भने बिदेशी लगानीकर्ता अझैपनि आश्वस्त हुन सकेका छैनन् भन्ने हो ।

लगानी स्वीकृति बढाउँदै जाने भन्दा पनि केहि आयोजनामा बिदेशी लगानीलाई सहजीकरण गरेर लगानी भित्राउने हो भने मात्रै अन्य बिदेशी लगानी भित्रन सक्छ । बैदेशिक लगानी भित्राउनका लागि सरकारले दुई वर्षमा एक पटक लगानी सम्मेलन गर्ने गर्छ । तर यो लगानी सम्मेलनकै आधारमा भने मुुुलुभित्र लगानी भित्रन सकेको छैन ।