बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अमेरिकाको नेपाल नीति  परिवर्तन हुँदैन

मंगलबार, माघ २० २०७७

 

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सरकार फेरिए पनि अमेरिकाको नेपाल नीति परिवर्तन नहुने बताएका छन् । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको विदेश नीतिबारे सोमबार पत्रकारलाई जानकारी दिँदै उनले मिलिनियम च्यालेन्ज कर्पोेरेसन (एमसिसी) सम्झौता, नेपालसँगको जलवायु परिवर्तन तथा विकास साझेदारी र नेपाली सेनासँगको सहकार्य निरन्तर रहने बताए । 

‘नेपालसँग द्विपक्षीय सम्बन्धका सन्दर्भमा ७० वर्षदेखि हाम्रा आधारभूत विषयमा परिवर्तन भएका छैनन् र हुँदैनन् पनि । एमसिसी सम्झौतालगायतका विषयमा नयाँ सरकारको प्राथमिकता परिवर्तन हुँदैन,’ उनले भने, ‘हामी नेपालसँग विशेषतः विकासका सम्बन्धमा साझेदारी गर्न प्रतिबद्ध छौँ । मैले यो विषय प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत शीर्ष नेताहरूलाई भनेको छु ।’ बाइडेनले कार्यभार सम्हालेलगत्तै उनको विदेश नीतिबारे राजदूत बेरीले प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेता र प्रधानसेनापति पूर्णचन्द्र थापालाई ब्रिफिङ गरेका थिए ।

राजदूत बेरीले एमसिसी सम्झौता तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा सुरु भएको भन्दै नेपालको संसद्बाट पारित हुने प्रक्रिया बाँकी रहेको स्मरण गरे । ‘यो राजनीतिक विषय होइन, विकास र लगानीको विषय हो । यसमा नयाँ सरकारको प्राथमिकता परिवर्तन हुँदैन,’ उनको भनाइ थियो ।

‘नेपाललाई अमेरिकाको नयाँ नेतृत्वले भारतीय चस्माबाट हेर्न लागेको हो,’ भन्ने पत्रकारहरूको प्रश्नमा राजदूत बेरीले नेपालसँग सम्बन्ध सञ्चालनको आफ्नै मूल्य–मान्यता रहेको बताए । उनले भने, ‘हामी नेपालसँग नितान्त द्विपक्षीय रूपमा सम्बन्ध सञ्चालन गर्छौँ । नेपालको सार्वभौमसत्ता तथा गतिशील लोकतन्त्रका संस्थाहरू (जसले प्रेस स्वतन्त्रतालगायतका स्वतन्त्रतालाई आत्मसात् गर्छन्)लाई अत्यन्तै सम्मान गर्छौँ, महत्व दिन्छौँ । हाम्रो नेपालसँगको सम्बन्ध सञ्चालनको मूल्य–मान्यता भारत वा चीनसँग सम्बन्धित हुँदैन । नेपालको मूल्य अरू कसैसँग हामीले खोज्ने होइन ।’ 

अमेरिका नेपालसँग विकासका एजेन्डामा सहकार्य गर्न प्रतिबद्ध रहेको र सम्बन्ध सञ्चालन अन्तर्राष्ट्रिय मूल्य–मान्यतामा आधारित रहेको राजदूत बेरीले बताए । नेपाल–अमेरिका सम्बन्ध अरूको भन्दा नेपालको आवश्यकताबाट निर्देशित रहेको उनको भनाइ छ । ‘पारदर्शी तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त नियममा आधारित मूल्य प्रणालीमा रहेर नेपालले क्षेत्रीय रूपमा आर्थिक एकीकरणमा जानुपर्छ र समृद्धि हासिल गर्नुपर्छ,’ उनले भने ।

नेकपाको आन्तरिक विवाद तथा संसद् विघटनबारे राजदूत बेरीले यो आन्तरिक विषय भएको टिप्पणी गरे । ‘यो सार्वभौम देश हो । अमेरिकाको रुचि यहाँ र विश्वमा लोकतान्त्रिक प्रणालीसँग सहकार्य गर्ने हो । यहाँ संविधान छ र नियम–कानुन पनि छन्,’ राजदूत बेरीले भने, ‘नेकपाको आन्तरिक विवाद हाम्रो बिजनेस होइन । यो राजनीतिक पार्टीको आन्तरिक विषय हो । अर्कातिर, यहाँ सर्वोच्च अदालत छ, संवैधानिक सिद्धान्त छन् । ’ 

राजदूत बेरीले अमेरिकाको उदाहरण दिँदै निर्वाचनबारे अदालतमा उठेका प्रश्न एउटा कोर्समा टुंगिएको र नयाँ सरकार गठन भएको दृष्टान्त पनि प्रस्तुत गरे । ‘नेपालमा पनि यो सबै संवैधानिक प्रक्रियामा छ । सर्वोच्च अदालत र संवैधानिक सिद्धान्त छन्, छलफल भइरहेको छ,’ उनको भनाइ थियो, ‘त्यसकारण हामीले अहिले अपरिपक्व वक्तव्य दिइरहनु आवश्यक छैन ।’

राजदूत बेरीले नेपाली सेनासँग अमेरिकाको सकारात्मक र लामो समयदेखि ‘इन्गेजमेन्ट’ रहेको र निरन्तर रहने बताए । ‘प्रकोप व्यवस्थापन, शान्ति स्थापक सैन्यलाई तालिम मानवीय सहायतासम्बन्धी विषयमा हामी नेपाली सेनासँग लामो समयदेखि सहकार्य गर्दै आएका छौँ, अब पनि निरन्तर कायम रहन्छ,’ उनले भने । 
नेपालका शीर्ष नेताहरूसँगको छलफलमा आफूले जलवायु परिवर्तनबारे सहकार्यमा जोड दिएको पनि उनको भनाइ थियो । उनले भने, ‘यो हाम्रो विदेश नीतिको महत्वपूर्ण पक्ष हो । हामी बुझ्छौँ र आत्मसात् गर्छौँ कि यो विश्वव्यापी चुनौतीको अग्रमोर्चामा नेपाल छ ।’ उनले विश्वव्यापी चुनौती, बहुपक्षीय संस्थाहरूमा अमेरिकाले नेपालसहित अन्य मुलुकहरूसँग साझेदारी गर्न चाहेको विषयमा पनि शीर्ष नेतृत्वलाई बताएको उल्लेख गरे । 

राजदूत बेरीले अमेरिकाको इन्डो–प्यासिफिक अवधारणा यो क्षेत्रमा अमेरिकी सुरक्षा, आर्थिक सम्पन्नता र ग्लोबल इन्गेजमेन्टका लागि भएको दाबी गरे । ‘नियममा आधारित विश्व व्यवस्था, पारदर्शिता र लोकतान्त्रिक संस्थाहरूलाई सहयोग गर्ने विषयमा कुनै परिवर्तन हुँदैन,’ उनले भने । आजको नयाँ पत्रिकाबाट