सम्झौताविपरीत काम गर्ने कम्पनीमाथि नेपाल ट्रस्टको कार्यालयले कारबाही प्रक्रिया सुरु गरेको छ । दरबारमार्गमा सम्झौताभन्दा एक तला बढी बनाएकोमा त्यसको थप भाडा तय गर्न लागिएको छ भने ताहाचलको जग्गामा नक्सा पास रोक्न महानगरपालिकालाई पत्राचार भएको छ । दुवै जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिले लिजमा लिएको छ ।
दरबारमार्गको जग्गामा भुइँतलाबाहेक तीन तलाको भवन बनाउने सम्झौता थियो । तर, यती समूहले चार तला बनाएको पाइएपछि एक तलाको छुट्टै भाडा तोक्न लागिएको हो । ‘अनुगमनका क्रममा सम्झौताभन्दा धेरै निर्माण गरिएको पाइयो,’ नेपाल ट्रस्टको कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव डा. भीष्मकुमार भुसालले भने, ‘त्यसको भाडा तय गर्न स्वतन्त्र परामर्शदातामार्फत काम भइरहेको छ ।’ जग्गा लिजमा दिँदा अनियमितता भएको भन्दै अदालतमा परेको मुद्दा पनि विचाराधीन नै छ ।
त्यस्तै, ताहाचलस्थित सोल्टी होटेलसँगैको जग्गामा ६ तला भवन बनाउन सम्झौता भएको थियो । यहाँ पनि यती समूहले ११ तलाको नक्सा पास गर्ने प्रयास गरिरहेको थियो । त्यसको जानकारी पाएपछि ट्रस्टको कार्यालयले महानगरपालिकालाई पत्र लेखेर नक्सा पास रोक्न भनेको छ ।
लिजसम्बन्धी विज्ञापन प्रकाशनमा ‘अधिकतम जग्गा प्रयोग गर्न सकिने’ भन्ने प्रावधान रहेकाले यती समूहले सम्झौताविपरीत पाँच तला धेरै बनाउन लागेको ट्रस्टका अधिकारीहरू बताउँछन् । सम्झौताविपरीत नक्सा पास गर्न लागेपछि रोक्नका लागि पत्राचार गरिएको प्रवक्ता भुसालले बताए । ताहाचलको जग्गा लिजमा दिँदा पनि अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो । लिजमा दिँदा दुईवटा कम्पनीबीच मात्र प्रतिस्पर्धा भएको थियो ।
तीन वर्षअघि सम्झौता भएकोमा हालसम्म काम सुरु हुन सकेको छैन । समयमा काम नहुँदा ट्रस्टले करोडौँ भाडा गुमाएको छ । नक्सा पास भएपछि भाडा तिर्ने प्रावधान राखेर त्यतिवेला कम्पनीलाई फाइदा हुने गरी सम्झौता गरिएको थियो ।
उता चितवनको आँपटारीको ६ बिघा जग्गाको भाडा दाबी गर्दै ट्रस्टले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सो जग्गा यती समूहकै कसरा रिसोर्टले लिजमा लिएको थियो । जग्गा हस्तान्तरण नभएको भन्दै उसले भाडा तिरेको छैन । कसराले तेस्रो पक्षलाई सबलिजमा दिएपछि त्यो कानुनविपरीत भएको भन्दै महानगरपालिकाले नक्सा पास गर्न मानेको थिएन । सोही कारण सो जग्गा अलपत्र बनेको छ भने बहुमूल्य जग्गाको आम्दानी ट्रस्टले गुमाएको छ । सम्झौताअनुसार भाडा दाबी गरिएको सहसचिव भुसालले बताए ।
उता, थामसेर्कुले भने दरबारमार्गमा सम्झौताअनुसार नै भवन निर्माण गरिएको दाबी गरेको छ । ताहाचलको जग्गा खाली हुन नसक्दा काम ढिलो भएको उसको भनाइ छ । आजको नयाँपत्रिका बाट