काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको अब जाने ठाउँ कतै नभएको दाबी गरेका छन । ‘उहाँ हिजो जंगलमा बस्नु भएको होइन दिल्ली नोयडा बस्नुभयो। जंगलमा अरुलाई बसाउनुभयो। आफूहरु जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नु भयो,’ ओलीले भने।
अहिलेसम्म एकपटक सूर्य चिन्हमा भोट नहाल्नेले अहिले सूर्य चिन्ह मागेर हिँड्न नसुहाउने समेत ओलीले बताए । ‘एक पल्ट सूर्य चिन्हमा छाप नलाएका मान्छेहरु मेरो हो चुनाव चिन्ह रे ! कहिलेबाट तपाइँको सूर्य चिन्ह ? पार्टी छाडेपछि मेरो सूर्य चिन्ह,’ ओलीले भने, ‘मैले त भनेको थिएँ नि अब सूर्य चिन्हमा लड्न पाउनुहुन्थ्यो नि। यहीँ बसेको भए कति सानदार सफलता हुन्थ्यो। सही काम गरेको भए पार्टी एक ढिक्का हुन्थ्यो। पार्टीले सानदार जित्थ्यो। अब उहाँहरुले जित्नुहन्छ चुनाव ?’
नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताएका हुन ।
‘पार्टी शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनु पर्दैन’, उनले भने, ‘आज पार्टीमा जुन एकता देखिएको छ, त्यो कति वर्षदेखि थिएन, आज हाम्रो पार्टी सबैभन्दा बढी एकताबद्ध पार्टी भएको छ । सबैभन्दा अनुशासित पार्टी हाम्रो पाटी हो ।’
उनले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताए ।
अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न कम्युनिस्ट पार्टी मजबुत हुनुपर्ने बताए ।
‘सही विचार बोकेको र एकताबद्ध कम्युनिस्ट पार्टीले मात्र आन्दोलनलाई गति साथ हाँक्न सक्छ’, उनले भने , ‘हामीलाई अनुशासित र गतिशील पार्टी चाहिएको छ, आज हाम्रो पार्टी त्यस्तै बनेको छ, आज हामी विचारमा कुनै अलमलमा छैनौँ ।’
सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने दृढता व्यक्त गरे । आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको गुनासो समेत गरे ।
सम्बोधनकै क्रममा उनले ‘नक्कली देशभक्त’ले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताए । नक्कली देशभक्तले बहुमत प्राप्त सरकार ढालेर जोरजामको सरकार बनाउने दाउ रच्दै देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप समेत लगाए ।
‘हामीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेका छौँ । जनताले सक्कली देशभक्तलाई समर्थन गर्छ कि नक्कली देशभक्तलाई ?’ उनले नेकपा दाहाल–नेपाल समूहमाथि व्यंग्य गर्दै भने, ‘बहुमत प्राप्त सरकारलाई कामै गर्न नदिने ? अहिले स्थायित्वको कुरा गर्दै हुनुहुन्छ । बहुमत प्राप्त सरकार ढाल्नै पर्ने ?’