काठमाडौं । काठमाडौं, टोखा नगरपालिका ८ रमणबस्ती बाट २५.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र २३ लाख ५० हजार रुपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने धादिङ खनियावास गाउँपालिका ४ स्थायी ठेगाना भएका मनिस भन्ने ३१ वर्षीय दुर्गा सिं तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमणबस्ती आवास क्षेत्र गेट अगाडि सडकबाट दुर्गा सिंलाई ६ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद १० हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो ।
साथै घटनाको अनुसन्धानको क्रममा उनको डेरा कोठाबाट थप १९.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २३ लाख ४० हजार रुपैयाँ बरामद गरेको हो । दुर्गा सिं उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।
यसैगरी काठमाडौं कै स्वयम्भु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय सुशिल नेपाल लगायत ३ जनालाई १ सय २३ ट्याबलेट नाइट्रोभ्याट, २५ एम्पुल पेन्टाजोलाइन, ३० एम्पुल डाइजेपाम, ३० एम्पुल फेनारगन, ३० एम्पुल नोर्फिन र कफ सिरप २ बोतल सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
बा.२ ज २०६५ नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।
साथै काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट नियन्त्रित लागूऔषध १८ एम्पुल डाइजेपाम, ४९ एम्पुल फेनारगन, २६ एम्पुल नोर्फिन र ३५ ट्याब्लेट नाईट्राजेपाम सहित मकवानपुर थाहा नगरपालिका ७ घर भएका २८ वर्षीय नबिन बिष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ५९९० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिष्टको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।