बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ 

मंगलबार, माघ १३ २०७७

काठमाडौं । काठमाडौं, दक्षिणकाली नगरपालिका ७ घर भई हाल चन्द्रागिरी नगरपालिका १ बलम्बु डेरा गरी बस्ने ३७ वर्षीया रिता खड्का र सोही ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका ९ घर भएकी २९ वर्षीया अमृता तामाङ्लाई ६ केजी ८ सय १६ ग्राम अवैध लागूऔषध गाँजा र नगद ६ लाख ६२ हजार रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका १३ रविभवनमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुको साथ र डेरा कोठामा गरी उक्त परिमाणको गाँजा र नगद सहित उनीहरुलाई पक्राउ गरेको हो ।  

झापा, शिबसताक्षी नगरपालिका ११ स्थित सडकबाट ५८ एम्पुल डाईजेपाम, ५७ एम्पुल बुफ्रेनोर्फिन र ५८ एम्पुल प्रोमेथोजाईन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका ८ बस्ने २५ वर्षीय सत बहादुर देवान र ३२ वर्षीय दिलिप महत रहेका छन् ।

सोही ठाउँमा खटिएको प्रहरीले मे.१ ह ६१७६ नम्बरको टेम्पो जाँच गर्ने क्रममा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धानको लागि टेम्पो चालक शिवसताक्षी नगरपालिका ७ बस्ने २५ वर्षीय सन्तोष लिम्बुलाई समेत टेम्पो सहित प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका १० बुलबुले गेटबाट २ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका ४ बस्ने २५ वर्षीय सरोज पन्तलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

सिरहाको मिर्चैया नगरपालिका ९ डाँडागाँउबाट करिब २५ केजी अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने रण बहादुर श्रेष्ठको घरमा अवैध लागूऔषध गाँजा लुकाई छिपाई किनबेच गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प मिर्चैयाबाट खटिएको संयुक्त टोलीले श्रेष्ठको घर तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

श्रेष्ठ हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । साथै उक्त गाँजा किनबेच गर्ने कार्यमा संलग्न धनुषा कमला नगरपालिका ८ बस्ने ३३ वर्षीय संजिब मण्डल लगायत ३ जनालाई समेत स.६ प ३८६५ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ