काठमाडौँ– पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशाख १७ र २७ गतेको निर्धारित मितिमा निर्वाचन हुन गाह्रो रहेको बताए।
उनले कुनै चमत्कार भइहालेमा मात्रै निर्धारित मितिमा निर्वाचन हुने टिप्पणी गरे।
पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानुनी रुपमा फुट्ने गरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजन सम्बन्धी विवादको निरुपण गर्न नै अयोगलाई कम्तिमा ६० दिन लाग्ने बताए। निर्वाचन सम्बन्धी अरु प्रक्रिया टुंग्याउन पनि महिनौँ लाग्ने र समय अभावका कारण निर्धारित मितिमा निर्वाचन हुने कुरा पत्याउन नसकिने उनको भनाइ छ।
पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले अदालतले संसद विघटन अथवा संसद पुनःस्थापना जुन पक्षमा निर्णय दिएपनि मुलुकको जित नुहुने टिप्पणी गरे।
मुलुक मुठभेडको राजनीतिमा जाने उनको भनाइ छ। उनले निर्वाचन जितेर जाने नेताले सत्ता कब्जा गर्ने नभइ सत्ता सञ्चालन गर्नुपर्ने भएकाले कब्जा हुन नदिन भएका त्रुटीहरुलाई सच्याउनुपर्ने बताए। वर्तमान निर्वाचन प्रणाली सुधारको आवश्यकता रहेको उनले औँल्याए।
पोखरेलले संसदलाई बलियो बनाउनु पर्ने र राजनीतिबाट पुरानो पुस्ताका नेताहरुले विश्राम लिनुपर्ने धारणा राखे।