काठमाडौं– महानगरपालिको समिक्षा कार्यक्रममा बोल्दै मेयर विद्यासुन्दर शाक्यले नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन । नागरिकले नतिजामुखी योजनाको अपेक्षा गरेका छन्।
महामारीका कारण जनताका अपेक्षाअनुसार योजना कार्यान्वयन गर्न सकिएन‚’ उनले भने‚ ‘महानगरसँग भएको स्रोतलाई जनताका माग र आवश्यकताका आधारमा खर्च गर्ने प्रणालीमा साझा मत बनाउनोस् र जनप्रतिनिधिको चाहनाबमोजिम योजना कार्यान्वयन गर्नोस्।
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै ६ महिनाको अवधिमा ६९ वटा पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको र ७२ वटा योजना कार्यान्वयनको चरणमा समेत प्रवेश नगरेको जनाएको छ।
महानगरपालिकाको तथ्यांकअनुसार चालु आर्थिक वर्षबाट सुरु भएका २ सय १ आयोजना र अघिल्लो वर्षबाट दायित्व सरेर आएका १ सय ६५ गरी ३ सय ६६ वटामध्ये २ सय २५ वटा कार्यान्वयन चरणमा छन् भने ७२ वटा वटा आयोजना अझै सुरु हुन बाँकी छन्।
अर्धवार्षिक समिक्षाअनुसार यो अवधिमा महानगरभित्र २३ किलोमिटर सडक कालोपत्रे भएको छ भने ३४ हजार १ सय ६५ वर्गमिटर सडक मर्मत गरिएको छ।
३ किलोमिटर ६१ मिटर सडक ढलान गरिएको छ भने ९ सय ७२ मिटर ढल राख्ने र ८ सय ६० मिटरमा ब्लक छाप्ने काम सकिएको छ। त्यस्तै ४ वटा वडा भवन, २ वटा अन्य भवन र २ वटा आकाशे पुल निर्माण सम्पन्न भएको पनि महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाको सामाजिक विकासतर्फ चालु आर्थिक वर्षका लागि १ अर्ब ६२ करोड रुपैयाँ बराबरका योजना कार्यान्वयनमा छन्।
सामाजिक सुरक्षासम्बन्धी महानगरले लिएका २३ वटा नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट व्यहोर्ने ७७ वटा, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदानबाट २४ वटा र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट ८ वटा गरी १ सय ९ वटा कार्यक्रम तय गरेको छ।
जसमध्ये ६६ वटा कार्यक्रम सुरु भइसेका छन् भने ३२ वटा कार्यक्रम कार्यान्वयनको चरणमा र ११ वटा कार्यक्रम कार्यान्वयनमा आउन नसक्ने अवस्थामा छन्।
महानगरपालिकाको आयतर्फ अहिलेसम्म ३ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको छ‚ जसमा सरकारबाट समानीकरण अनुदानअन्तर्गत १ अर्ब २१ करोड रुपैयाँ प्राप्त भएको छ भने राजस्व बाँडफाँटबाट २ अर्ब ५५ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म १३ करोड रुपैयाँ प्राप्त भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा महानगरपालिकाले ४ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। कोभिड-१९ महामारीका कारण समस्यामा परेका विभिन्न व्यवसायमा दिइएको कर छुटका कारण गत वर्षको तुलनामा यस वर्षको मध्यसम्ममा कम राजस्व संकलन भएको महानगरपालिकाको भनाइ छ।
लक्ष्यका आधारमा गएको वर्षको पहिलो ६ महिनामा ३५ प्रतिशत राजस्व प्राप्त भएको थियो भने यस वर्ष २९ प्रतिशत प्राप्त भएको छ।