काठमाडाैं : नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याउन चेतावनी दिएको छ।आज बसेको यो समूहको सचिवालय बैठकले नागरिकको हैसियतमा पूर्वप्रधानन्यायाधीशहरुले बोल्दा प्रधानमन्त्रीले ओलीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाएको र त्यसको भर्त्सना गरेको प्रवक्ता श्रेष्ठले बताए।
प्रतिनिधिसभा विघटनका विषयमा ४ पूर्वप्रधानन्यायाधीशले केही दिनअघि वक्तव्य जारी गर्दै यो असंवैधानिक कदम भएको बताएका थिए। वक्तव्य जारी गर्नेमा मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की थिए।
उनीहरुको वक्तव्यपछि प्रधानमन्त्री ओली पक्षले यसप्रति आपत्ति जनाउँदै आएको छ। प्रधानमन्त्री ओलीले अदालतको काममा बाधा गरेको भन्दै आज राष्ट्रियसभामै प्रधानमन्त्री ओलीले ती पूर्वप्रधानन्याधीशहरुको आलोचना गरेका थिए।
यस्तै प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले केही समययता प्रदर्शन गरेको चरित्र अधिनायकवादी, र निरंकुश भएको भन्दै यसलाई तत्काल रोक्न चेतावनी दिने निर्णय पनि बैठकले गरेको छ।
बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकोप्रति पनि विरोध जनाएको छ। प्रतिनिधिसभा विघटन गरेको अवस्थामा जनताको आवाजको प्रतिनिधित्व गर्ने थलोको रुपमा रहेको राष्ट्रियसभा अचानक बन्द भएकोमा आफ्नो समूहको विरोध रहेको उनले बताए। बैठकको निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको समेत जानकारी गराए।
प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न आग्रह गरे।
बैठकले सरकारी सञ्चारमाध्यमहरु एउटा गुटको पर्चाजस्तो भएको पनि उनको आरोप छ। भने, ‘सरकारी स्रोत साधनको दुरुपयोग गर्न बन्द गरियोस्।’