सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य/मान्यता विपरित :देउवा

शनिबार, पुष २५ २०७७

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवालाई पक्राउ गर्ने कार्य निन्दनीय भएको बताएका छन्।सभापति देउवाले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उक्त घटनाको निन्दा गरेका हुन्। उक्त कार्य लोकतन्त्रको मूल्य मान्यता विपरित रहेको भन्दै दोषीलाई कारबाही गर्न देउवाले माग गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई पक्राउ गर्ने कार्य एकदम निन्दनीय छ। दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य/मान्यता विपरित हो। पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु!’

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको कार्यक्रममा निर्मला पन्तका लागि न्याय माग्ने ८ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो।धनगढीका स्थानीय ८ जना युवा प्रधानमन्त्रीले सम्बोधन गरिरहेको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाएर पुगेका थिए। उनीहरुलाई सभास्थल पुगे लगत्तै प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो।

दिउँसो २ बजे पक्राउ परेका उनीहरुलाई प्रधानमन्त्री आमसभा स्थलबाट निस्के लगत्तै बेलुका ५ बजे छोडिएको प्रहरीले जनाएको छ।