बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

मंगलबार, पुष १४ २०७७

काठमाडौं । मोरङ्ग जिल्लाको जहादा गाउँपालिका १ स्थित भुटाहाबाट पौष १२ गते एपीएफ टोलीले करीव २० के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको बराह नगपालिका ७ बस्ने ३१ वर्षिय गणेश राई छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहादाबाट खटिएको एपीएफ टोलीले को २ ह ४२४१ नम्बरको अटोमा शंका लागि जाँच गर्दा उक्त गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।  त्यसवेला एपीएफ टोलीले उक्त अटो समेत बरामद गरेको छ ।

एपीएफ टोलीले पक्राउ परेका निज राईलाई बरामद गाँजा तथा अटोसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोलीले पौष १२ गते रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका २ स्थित सीमा ईलाकाबाट २५ वटा नाईट्राजिपाम ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका ५ बस्ने २१ वर्षिय अमित श्रेष्ठ, सोही उपमहानगरपालिका ७ आदर्शनगर बस्ने २२ वर्षिय अभिषेक जैसवाल छन् । 

लु २५ प २०६२ नम्बरको स्कुटरमा सवार उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त स्कुटर समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय धकधईमा बुझाईएको छ ।