बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गृहमन्त्री बादललाई विप्लव नेतृत्वको रातो स्वागत

बिहिबार, कार्तिक २१ २०७६

प्रहरी प्रमुखहरुको दलबलसहित बुटवल आईपुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नेत्रबिक्रम चन्दले नेतृत्व गरिरहेको प्रतिवन्धित नेकपाले रातो पोष्टरले स्वागत गरेको छ ।

हिजो सोमबारदेखि शुरु भएको प्रदेशस्तरीय गोष्ठीमा आज मंगलबार गृहमन्त्री थापा प्रमुख अतिथिका रुपमा सहभागी हुन बुटवल आउदा विप्लव समूहका कार्यकताले रातारात बजारभरी पोष्टर टाँसेका थिए ।

प्रदेश नंं। ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको उक्त गोष्ठीमा आउदै गरेका सुरक्षा अंगका प्रमुखहरु र मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी बोकेका गृहमन्त्री आउदै गर्दा विप्लव कार्यकर्ताहरुले पोष्टर छ्याप्छ्याप्ती पारेर चुनौती दिएका छन् ।

विप्लव नेतृत्वको युवा संगठनको मध्यपश्चिम कमान्डले बुटवलको व्यस्त स्थानमा सो पार्टीको पोस्टर टाँसेको बताईएको छ । इलाका प्रहरी कार्यालय बुुटवलमा डीएसपी भीमलाल भट्टराईले यस क्षेत्रमा विप्लव समूहको कुनै गतिविधि नभएको दाबी गरेपनि बुटवलका ठाउँठाउँमा विप्लव समूहको रंगिन रातो पोस्टर टाँसेका थिए । सोमबार राति टाँसेको अपिलसहितका रंगिन पोस्टर रातारात प्रहरीले हटाएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखलगायत सहभागी उक्त गोष्ठीमा गृहमन्त्री थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई असफल तुल्याउन सरकार सफल भएको बताएका छन् ।

गृहमन्त्रालय र प्रदेश नंं ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूलरुपमा समाधान गरिसकिएको बताए । गृहमन्त्री थापाले देशमा शान्ति सुव्यवस्था र आर्थिक प्रगतिको अवस्था सकारात्मक रुपमा अघि बढेको बताए ।