काठमाडौं । पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। लुम्बिनी प्रदेशको हिमाली भूभागमा पनि सामान्य बदली रहेको छ।
देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहे पनि तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
आज दिउँसोको मौसम
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्ने पूर्वानुमान छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा देशका अन्य हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज रातिको मौसम
आज राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
महाशाखाका अनुसार राति कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।