काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज मङ्गलबार नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ। दसैँघर तथा पूजा कोठामा देवीको आह्वान गरी भक्तजनले श्रद्धापूर्वक पूजा, ध्यान र स्तुति गरिरहेका छन्।
नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले शिरमा अर्धचन्द्र र घण्ट धारण गर्ने भएकाले उनको नाम चन्द्रघण्टा रहन गएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ। देवीको आराधनाबाट शक्ति प्राप्त हुने धार्मिक विश्वासका कारण नवरात्रमा उनको विशेष पूजा गर्ने परम्परा रहेको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिए।
मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् जसको घण्टमा चन्द्रमा रहेको छ, उनको नाम चन्द्रघण्टा हो भन्ने उल्लेख गरिएको छ। चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको रहेको र उनले अत्याचारी दानवी शक्तिको नाश गर्ने धार्मिक मान्यता छ।
चन्द्रघण्टाको पूजा आराधनाका क्रममा मणिपुर चक्रमा ध्यान गरिन्छ। देवीको स्वरूपको ध्यान गर्दा विभिन्न शक्ति प्राप्त हुने विश्वास गरिन्छ। वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाबाट पाप नाश हुने उल्लेख छ।
चन्द्रघण्टा देवीको स्वरूप शान्त, सौम्य र करुणामयी मानिन्छ। विशेषगरी गीतसङ्गीत क्षेत्रमा लागेका व्यक्तिले उनको आराधना गर्ने धार्मिक परम्परा रहेको भट्टराईले बताए। उनका अनुसार आजका दिन विशेष पूजा र ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रको पहिलो दिन आइतबार घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा वैदिक विधिअनुसार जमरा राखिएको थियो। घटस्थापनाको अर्थ देवीको ध्यान र साधनामा आफूलाई समर्पित गर्नु रहेको श्रीमद्देवीभागवतलगायत पुराणमा उल्लेख छ। घटस्थापनाका दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो भने दोस्रो दिन सोमबार ब्रह्मचारिणी देवीको आराधना गरिएको थियो।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गासप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। यस अवधिमा देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास गरिन्छ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। नौ दिनसम्म पूजा गरी प्रसादस्वरूप लगाइएको टीका र जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन्।
दुर्गा पक्षसमेत भनिने नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा पूजा, आराधना र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। कतिपय भक्तजनले नवरात्रका नौ दिनमा कम्तीमा नौ वटा शक्तिपीठको दर्शन गर्ने धार्मिक मान्यताअनुसार विभिन्न मन्दिर पुगेर पूजा आराधना गर्ने गरेका छन्।