बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विवादास्पद अडियो सार्वजनिक भएपछि सांसद खगेन्द्र सुनार आलोचनामा

मंगलबार, असोज २७ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादास्पद अडियो सार्वजनिक भएपछि आलोचनामा परेका छन्। अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिन्छ।

सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो सुनारकै भएको दाबी गर्दै सार्वजनिक गरेको हो। केही वर्षअघि रेकर्ड गरिएको भनिएको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म यस विषयले चर्चा पाएको छ।

अडियोमा प्रयोग गरिएका शब्द र अभिव्यक्तिप्रति विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ। घटनापछि सुनारलाई सांसद पदबाट राजीनामा दिन लगाउनुपर्ने र उनीमाथि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने मागसमेत उठ्न थालेको छ।

विवाद चर्किएपछि सुनारको प्रतिक्रिया लिन सञ्चारमाध्यमले सम्पर्क गर्ने प्रयास गरे पनि उनको मोबाइल फोन बन्द रहेको जनाइएको छ। पटक–पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा नआएको बताइएको छ।

यस विषयमा पार्टीको आधिकारिक धारणा बुझ्न खोज्दा रास्वपाका प्रवक्ता जगदीश खरेलले तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। आफू काठमाडौं बाहिर रहेकाले घटनाबारे विस्तृत जानकारी नभएको र बुझेर मात्रै प्रतिक्रिया दिने उनले बताएका छन्।

सांसद सुनार यसअघि पनि विभिन्न विवादमा मुछिँदै आएका छन्। प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप, प्रहरी महानिरीक्षकसँगको विवाद, प्रस्तावित राजदूत नियुक्तिसम्बन्धी प्रकरणमा नाम जोडिनु तथा गाईसम्बन्धी अभिव्यक्तिका कारण उनी पटक–पटक विवादमा परेका थिए।