बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बूढीगण्डकीमा बाढी : पक्की पुल बगायो, ३५ घर ध्वस्त

आइतबार, असोज २५ २०८३

काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुल बगाएको छ । बाढीले माछिखोला बजारमा ठूलो क्षति पुर्‍याउनुका साथै केरौँजा जाने झोलुङ्गे पुलसमेत बगाएको छ ।

बाढीका कारण सल्लेरी र जगत बजारमा पनि व्यापक क्षति भएको छ । चुमनुब्री गाउँपालिका–६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि आज बिहान बूढीगण्डकी नदीमा बाढी आएको हो ।

थुनिएको खोला फुटेर आएको बाढीले नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् । उनका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत व्यापक क्षति भएको छ ।

बाढीले सडक, पुल तथा बजार क्षेत्रमा क्षति पुर्‍याएपछि स्थानीय बासिन्दा प्रभावित भएका छन् । बाढीबाट भएको भौतिक क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी छ ।

हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । बाढीको जोखिमलाई ध्यानमा राख्दै सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।