काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज २१ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंक सञ्चालक समितिले साधारण सेयरतर्फ चुक्ता पुँजीको ७ प्रतिशतका दरले नगद लाभांश र एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। दुवै लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
बैंकको साधारण सेयरतर्फ चुक्ता पुँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार २५७ रुपैयाँ २० पैसा रहेको छ। त्यस्तै, अग्राधिकार सेयरतर्फ चुक्ता पुँजी ३ अर्ब रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गर्नुपर्नेछ। साधारणसभाबाट पारित भएपछि सम्बन्धित सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।
