काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र सञ्चालन हुँदैछ । बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ ।
आजको बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेकाे ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ ।
सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार गत सोमबारदेखि महाधिवेशन प्रतिनिधिहरूले ती प्रस्ताव तथा प्रतिवेदनमाथि निरन्तर धारणा राख्दै आएका छन् । छलफलमा सातवटै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएका छन् ।
आज बिहान साढे १० बजेदेखि बन्द सत्र पुनः सञ्चालन हुने कार्यतालिका रहेको आचार्यले जानकारी दिनुभयो । सत्रको सुरुवातमा सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैबीच, बन्द सत्रमा प्रवेशका विषयमा पनि नयाँ व्यवस्था गरिएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको छ । उहाँका अनुसार यसअघि विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैका लागि खुला गरिएको थियो ।
बन्द सत्रको नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ । अन्य सञ्चारमाध्यमलाई पनि बन्द सत्र प्रत्यक्ष प्रसारण गर्न अनुमति दिइने प्रवक्ता चालिसेले जानकारी दिए ।