बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस महाधिवेशन : १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी

बुधबार, असोज २१ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीसहित विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा उम्मेदवारी दिएका नेताहरूको प्रथम नामावली सार्वजनिक गरेको हो ।

कांग्रेसको विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने भएकाले १९ जना पदाधिकारी निर्वाचनबाट चयन हुनेछन् ।

निर्वाचन समितिका अनुसार १९ पदाधिकारीका लागि ७९ जनाले उम्मेदवारी दिएका छन् ।

सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपसभापति पदमा भने विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ । समावेशी व्यवस्थाअनुसार चार उपसभापति निर्वाचित हुनेछन्, जसमा एक महिला र तीन जना खुलातर्फबाट चयन हुने व्यवस्था छ ।

महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुवै कांग्रेसका वर्तमान उपसभापति थिए ।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमा कुनै दाबी–विरोध भए त्यसका लागि आज बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्मको समय निर्धारण गरिएको छ ।