काठमाडौँ । देशका अधिकांश भूभागमा आज मौसम बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र मनसुनी वायुको प्रभावका कारण विभिन्न क्षेत्रमा बादल लाग्नुका साथै वर्षाको सम्भावना रहेको छ।
हाल कर्णाली र सुदूरपश्चिमका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी, मधेस र बागमतीका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
यसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनीका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ। हाल बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कोशीका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रमा केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, देशका पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि सामान्य बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
रातिको समयमा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्नेछ। पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।