बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

सोमबार, असोज १९ २०८३

काठमाडौँ  । प्रधानसेनापति अशोक राज सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन् ।

बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल असोज १९ देखि २५ गतेसम्म बेलायत भ्रमणमा रहने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणले नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहेको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ । साथै, सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए ।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिका रूपमा कार्यभार सम्हाल्ने छन् ।्