बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

वीरगन्ज नाकामा बढ्दो पोके तस्करी, नियन्त्रणमा चुनौती

बुधबार, असोज १४ २०८३

वीरगन्ज । मुलुकको प्रमुख प्रवेशद्वारका रूपमा रहेको वीरगन्ज नाका पछिल्लो समय पोके तस्करी नियन्त्रणमा चुनौती बनेको छ । भारतबाट दैनिक उपभोग्य वस्तु, कपडा, मोबाइललगायतका सामान बोकेर महिला, बालबालिका तथा पुरुष समूहमा नेपाल प्रवेश गर्ने क्रमसँगै सुरक्षाकर्मी र तस्करबीच झडपका घटना पनि सार्वजनिक हुन थालेका छन्।

गत असोज ७ गते राति सिर्सिया नाकामा ड्युटीमा खटिएका दुई सशस्त्र प्रहरी जवान तस्कर समूहसँगको झडपमा घाइते भए । भारतबाट कपडा बोकेर आउँदै गरेको महिलाको समूहबाट सामान नियन्त्रणमा लिन खोज्दा करिब एक दर्जन पुरुष तथा महिला पोके तस्करसँग सुरक्षाकर्मीको झडप भएको थियो । कपडा बरामद भएपछि सीमाक्षेत्रमा पुगेको तस्कर समूहले सुरक्षाकर्मीलाई घेरा हालेर आक्रमण गरेको बताइएको छ ।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी र पोके तस्करबीच झडप भएको यो पहिलो घटना भने होइन । वीरगन्ज आसपासका सीमाक्षेत्रमा पछिल्लो समय पोके तस्करीसँग सम्बन्धित विवाद र झडपका घटना बढ्दै गएको सुरक्षाकर्मी बताउँछन्।

पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहनसिंह क्षेत्रीका अनुसार वीरगन्ज आसपासको सीमाक्षेत्रमा पोके तस्करी मुख्य चुनौतीका रूपमा देखिएको छ । उनका अनुसार केही परिवारको जीविकोपार्जनको आधार नै पोके तस्करी बनेकाले यसलाई नियन्त्रण गर्न थप चुनौती हुने गरेको छ।

क्षेत्रीका अनुसार वीरगन्ज आसपासमा महिला, बालबालिका र पुरुष गरी करिब ५०० जना दैनिक पोके तस्करीमा संलग्न हुने गरेका छन् । तीमध्ये महिला तथा बालबालिकाको संख्या बढी रहेको उनको भनाइ छ। सामान बरामद वा पक्राउ परे पनि कतिपय व्यक्ति पुनः यही काममा फर्किने गरेको उनले बताए।

‘पहिला जस्तो संगठित तस्करीलाई हामीले पूर्ण रूपमा नियन्त्रणमा लिएका छौँ । तर महिला र बालबालिकाको प्रयोग गरेर हुने पोके तस्करी चुनौतीका रूपमा देखिएको छ,‘क्षेत्रीले भने । भारतको सीमावर्ती बजारमा नेपाली बजारको तुलनामा केही वस्तु सस्तो पर्ने भएकाले पोके तस्करीमा आकर्षण देखिएको व्यापारीहरू बताउँछन् । उनीहरूका अनुसार सीमावर्ती भारतीय बजारमा चिनी प्रतिकिलो ६४ भारतीय रुपैयाँमा पाइन्छ भने खाने तेल नेपाली बजारको तुलनामा प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म सस्तो पर्छ।

त्यस्तै, कपडामा प्रतिगोटा ३०० देखि ४०० रुपैयाँसम्म र मोबाइलमा ४ हजारदेखि ५ हजार रुपैयाँसम्म मूल्य अन्तर हुने गरेको व्यापारीहरूको भनाइ छ । सुरक्षाकर्मीका अनुसार वीरगन्ज नाकाबाट महिला तथा बालबालिकाको प्रयोग गरी दैनिक उपभोग्य वस्तुदेखि कपडा, मोबाइल र लागूऔषधसम्म पोके तस्करी हुने गरेको छ।

सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मीका अनुसार तस्करहरू बिहानैदेखि रातिसम्म टाउकोमा सामान बोकेर खेत, आली तथा सिर्सिया नदी हुँदै नेपाल प्रवेश गर्ने गर्छन् । कतिपयले सुरक्षाकर्मीको निगरानी कमजोर हुने समयको प्रतीक्षा गर्दै सीमाक्षेत्रमै २४ देखि ४८ घण्टासम्म बसेर सामान भित्र्याउने प्रयाससमेत गर्ने गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट ग्रामीण नाकामार्फत भित्र्याइएका सामान वीरगन्जका विभिन्न बजार हुँदै देशका अन्य शहरसम्म पुग्ने गरेको बताइएको छ । कपडा, खाद्यान्नलगायतका सामान वीरगन्जका व्यापारीले बिलिङ गरेर अन्य शहरमा पठाउने गरेको समेत व्यापारीहरूको भनाइ छ ।

करोडौँको सामान बरामद

सीमामा निगरानी र सुरक्षा व्यवस्था कडा पारिए पनि पर्सामा भन्सार छलीका सामान बरामद हुने क्रम भने जारी छ । असोजको पहिलो साता जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज–१६ इनर्वागाउँ र छपकैयाबाट २० लाख ८१ हजार रुपैयाँभन्दा बढी मूल्यका खाद्यान्न तथा औषधि बरामद गरेको थियो । त्यस्तै, सशस्त्र प्रहरीले असोज ३ गते नैकाटोलाबाट मोबाइल पाट्र्स तथा पकाहामैनपुरबाट कपडासहित १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका सामान बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल पर्साको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷८२ मा तस्करीमा संलग्न १६५ जना पक्राउ परेका थिए । सो अवधिमा २८ करोड ९२ लाख रुपैयाँ बराबरका सामान बरामद गरिएको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा १०७ जना पक्राउ परेका थिए भने २४ करोड ९८ लाख रुपैयाँ बराबरका सामान बरामद भएको सशस्त्र प्रहरीको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै ३२ जना पक्राउ परिसकेका छन् भने ३ करोड ७१ लाख रुपैयाँ बराबरका सामान बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकले पनि तस्करी नियन्त्रणमा बरामदको मात्रा ठूलो रहेको देखाउँछ । आर्थिक वर्ष २०८०÷८१ मा ५३ करोड ४६ लाख रुपैयाँ बराबरका सामान बरामद हुँदा चार जनामाथि कारबाही चलाइएको थियो । आर्थिक वर्ष २०८१÷८२ मा ५९ करोड ९४ लाख रुपैयाँ बराबरका सामान बरामद हुँदा ११ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०८२/८३ मा ६३ लाख ९६ हजार रुपैयाँ बराबरका सामान बरामद भएको र पाँच जना पक्राउ परेको प्रहरी तथ्यांक छ ।

चालु आर्थिक वर्षको भदौसम्म एक जना पक्राउ परेको र १७ करोड ५५ लाख रुपैयाँ बराबरका तस्करीका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले बताए ।

नेपाल–भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि सुरक्षा उपस्थिति बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । पर्सामा सशस्त्र प्रहरीको ७ सय जनाको दरबन्दी रहेकामा करिब ६ सय सुरक्षाकर्मी सीमाक्षेत्रमा खटिने गरेको सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीका जनपद प्रहरीसमेत परिचालन हुँदै आएका छन् । सुरक्षाकर्मीको उपस्थिति र निगरानी बढाइए पनि महिला तथा बालबालिकाको प्रयोग गरेर हुने पोके तस्करी नियन्त्रण गर्नु सीमाक्षेत्रको प्रमुख चुनौती बनेको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

अनिल तिवारी, नेपाल न्यूज बैंक