बैठक हलबाहिर नेपाल न्यूज बैंकसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले अध्यक्ष परिवर्तन गर्ने वा विशेष महाधिवेशन बोलाउने विषय आफूहरूले नउठाएको स्पष्ट पारे । उनका अनुसार पार्टीलाई पुनर्संरचना वा रिफर्म गर्ने विषयमा मात्र छलफल भइरहेको छ ।
उनले भने, ‘अध्यक्षलाई फेर्ने कुरा कहिले पनि होइन । विशेष महाधिवेशन बोलाउने र त्यसको नेतृत्व गर्ने कुरा हामीले कहिले पनि गरेका छैनौं । पार्टीलाई पुनर्सङ्गठन होइन कि पुनर्संरचना अथवा रिफर्म गर्ने कुरा मात्रै गरेका हौं । र अध्यक्षको सहमति बिना हामी नयाँ अध्यक्षका दाबेदार होइनौं ।’
बस्नेतले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले पनि अध्यक्षको भावना, राजनीतिक प्रतिवेदन र आफूहरूको धारणाबीच फरक नरहेको बैठकमा स्पष्ट पारेको बताए ।
उनका अनुसार बैठक सुरु हुँदा खाजाको समयसम्म ४१ जना नेताले धारणा राखेका थिए । तीमध्ये चार–पाँच जनाले आलोचनात्मक दृष्टिकोण राखे पनि अधिकांशले अध्यक्षको प्रतिवेदनलाई समर्थन गरेको उनको भनाइ छ ।
बस्नेतले एमालेले संगठनलाई सुदृढ बनाउँदै जनतासँग टुट्न खोजेको सम्बन्ध पुनः जोड्ने र डिजिटल माध्यमबाट फैलाइएका भ्रम चिर्ने गरी अघि बढ्नुपर्ने बताए ।
बैठकमा उठेका असन्तुष्टिका विषयमा पनि बस्नेतले प्रष्ट पारेका छन् । एमाले नेता कृष्णगोपाल श्रेष्ठले बैठक सञ्चालन पद्धतिबारे प्रश्न उठाएको र तोकिएको समयभित्र आफ्नो धारणा राख्न नसकेपछि केही समय असन्तुष्टि जनाएको उनले बताए ।
यस्तै, कर्ण थापाले विधान अधिवेशनदेखि आफूले राख्न चाहेको फरक मत बैठकमा राख्न पाउनुपर्ने माग गरेको बस्नेतको भनाइ छ । पूर्वराष्ट्रपतिको सक्रियतालगायतका विषयमा आफूले धारणा राख्न नपाएको भन्दै थापाले प्रश्न उठाएको उनले बताए ।
बस्नेतले पार्टीभित्र फरक धारणा राख्नु स्वाभाविक भए पनि त्यसलाई लिएर गुट निर्माण हुने अवस्था आउन नहुने बताए। उनले पार्टी अध्यक्ष र मूल नेतृत्वलाई केन्द्रमा राखेर संगठन सञ्चालन गर्नुपर्ने धारणा राखे ।
‘अध्यक्ष र मूल नेतृत्वलाई मानेर नै पार्टीहरू चलाउनुपर्छ । त्योभन्दा फरक अराजक ढङ्गले, जताततै छरिएर, जताततै बसेर, जताततै घुमेर १० वटा टाउको नेता भएर, १० वटा गुट बनाएर पार्टी निर्माण हुन सक्दैन,’ उनले भने ।