काठमाडौँ । भारतको तीनदिने भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भ्रमणको दोस्रो दिन महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटघाट गर्दै छन्।
बिहीबार भारत प्रस्थान गरेका अर्थमन्त्री वाग्लेले सोही दिन भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन्। भ्रमणको दोस्रो दिन शुक्रबार उनले विभिन्न उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ।
अर्थमन्त्री वाग्ले शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
इन्डिया इन्टरनेसनल सेन्टरमा हुने कार्यक्रममा उनले नेपाल–भारत सम्बन्ध तथा समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
भ्रमणको दोस्रो दिनको अर्को महत्त्वपूर्ण कार्यक्रमका रूपमा अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्नेछन्। भेटवार्ता शुक्रबार साँझ ५ बजेका लागि तय गरिएको छ।
भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा आर्थिक र कूटनीतिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्ले आजै भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने बृहत् उच्चस्तरीय भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।
भारत मण्डपममा आयोजना हुने कार्यक्रममा नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे छलफल हुनेछ।
अर्थमन्त्रीको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।
तीनदिने भ्रमणको तेस्रो दिन शनिबार निजी क्षेत्रका प्रतिनिधि तथा अन्य उच्चस्तरीय व्यक्तिसँग भेटघाट गरेपछि अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम छ।