काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज २९औँ स्मृति दिवस मनाइँदैछ। नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी सिंहलाई स्मरण गर्दैछन्।
नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाको उदाहरणका रूपमा स्मरण गरिने सिंहले २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रबाट आएको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका थिए। उनले आफू प्रधानमन्त्री बन्नुको सट्टा आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए।
राणाविरोधी आन्दोलनदेखि प्रजातन्त्र पुनःस्थापनासम्म
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहले राणाशासनविरुद्धको आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। उनी प्रजा परिषद्का सदस्य बनेर राणाशासन हटाउने अभियानमा सक्रिय भएका थिए।
२००७ सालको क्रान्तिअघि भद्रगोल जेल तोडेर भाग्न सफल भएका सिंह भारत पुगेका थिए। त्यहाँ उनको बिपी कोइरालासँग राजनीतिक सम्बन्ध स्थापित भयो। २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वसमेत सिंहले गरेका थिए।
२००७ सालको प्रजातन्त्र स्थापनाको आन्दोलनमा उनी एक प्रमुख अगुवाका रूपमा सक्रिय रहे। वीरगन्ज मोर्चामा उनले सशस्त्र संघर्षको नेतृत्वसमेत गरेका थिए।
आठ वर्ष जेल जीवन
२०१५ सालको पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा सिंह वरिष्ठ मन्त्री बने। तर २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उनको राजनीतिक जीवन फेरि संघर्ष र काराबासमा केन्द्रित भयो।
सिंहले सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा गरी करिब आठ वर्ष काराबास जीवन बिताएका थिए।
२०२५ सालमा बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनी प्रवासमा राजनीतिक संगठन विस्तारमा सक्रिय भए। त्यसपछि २०३३ सालमा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किए र पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय रहे।
‘लौहपुरुष’का रूपमा स्मरण
२०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्ध भएको जनआन्दोलनमा सिंहले सर्वोच्च कमाण्डरको भूमिका निर्वाह गरेका थिए। आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्ने अवसर पाए पनि उनले पदभन्दा लोकतान्त्रिक मूल्य र राजनीतिक सहकार्यलाई प्राथमिकता दिएको उनको राजनीतिक जीवनको महत्वपूर्ण प्रसङ्गका रूपमा स्मरण गरिन्छ।
गणेशमान सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो। उनको योगदानको स्मरणमा हरेक वर्ष असोज २ गते विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन्।